ताजा समाचार

सञ्चारमन्त्री तिमिल्सिना र मलेसियाली समकक्षीबीच द्विपक्षीय भेटवार्ता, डिजिटल रूपान्तरण र दूरसञ्चार सहकार्य विस्तारमा जोड

सञ्चारमन्त्री तिमिल्सिना र मलेसियाली समकक्षीबीच द्विपक्षीय भेटवार्ता, डिजिटल रूपान्तरण र दूरसञ्चार सहकार्य विस्तारमा जोड
Global IME Bank

अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) को महासम्मेलनमा सहभागी हुन कतारको दोहामा रहेका सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र मलेसियाका समकक्षी मन्त्रीबीच द्विपक्षीय भेटवार्ता भएको छ।

सौहार्दपूर्ण वातावरणमा सम्पन्न भेटवार्तामा नेपाल र मलेसियाबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउँदै डिजिटल रूपान्तरण, दूरसञ्चार पूर्वाधार, डिजिटल साक्षरता तथा प्रविधि क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको थियो।

भेटका क्रममा मलेसियाली मन्त्रीले आफ्नो देशका डिजिटल क्षेत्रका प्राथमिकताबारे जानकारी गराएका थिए। उनले फाइभजी तथा स्याटेलाइट सञ्चार प्रविधि, डिजिटल विश्वास र व्यक्तिगत डाटाको संरक्षण, सुलभ इन्टरनेट सेवा, डिजिटल साक्षरता, युवा जनशक्ति विकास, विद्युतीय व्यापार तथा स्थानीय उद्यमशीलताको प्रवर्द्धनलाई मलेसियाले प्राथमिकतामा राखेको उल्लेख गरेका थिए।

भेटवार्तामा मन्त्री तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्राथमिकताका साथ अघि बढाइरहेको उल्लेख गर्दै दूरसञ्चार सेवाको पहुँच विस्तार, डिजिटल सेवाको सुदृढीकरण तथा सुरक्षित, विश्वसनीय र समावेशी डिजिटल वातावरण निर्माणमा सरकार प्रतिबद्ध रहेको बताएका थिए।

उनले डिजिटल साक्षरता, क्षमता विकास, डिजिटल विश्वास र सुलभ दूरसञ्चार सेवा जस्ता मलेसियाका प्राथमिकताहरू नेपालको राष्ट्रिय प्राथमिकतासँगसमेत मेल खाने उल्लेख गरे।

मन्त्री तिमिल्सिनाले यी क्षेत्रमा अनुभव आदानप्रदान, प्राविधिक तथा संस्थागत क्षमता विकास र जनस्तरको सम्पर्क तथा सहकार्य विस्तार गर्ने सम्भावनाबारे नेपाल सकारात्मक रहेको बताए।

भेटका क्रममा मन्त्री तिमिल्सिनाले नेपाल र मलेसियाबीचको लामो समयदेखिको मित्रता तथा जनस्तरमा विकसित घनिष्ठ सम्बन्धको स्मरण गरे।

उनले मलेसियामा नेपाली नागरिकका लागि उपलब्ध रोजगारी तथा अन्य अवसरहरूको प्रशंसा गर्दै त्यहाँ कार्यरत नेपालीहरूले मलेसियाको अर्थतन्त्र र समाजमा पुर्‍याएको योगदानको उल्लेख गरे। साथै, नेपाली नागरिकप्रति मलेसिया सरकार र त्यहाँका जनताले देखाएको आतिथ्य तथा सद्भावका लागि आभार व्यक्त गरे।

भेटवार्तामा सूचना तथा सञ्चार मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेलसहित नेपाली प्रतिनिधिमण्डलका अन्य सदस्यहरू तथा मलेसियाली प्रतिनिधिमण्डलका सदस्यहरूको समेत उपस्थिति रहेको थियो।

भेटवार्ताको अन्त्यमा दुवै पक्षले डिजिटल कनेक्टिभिटी, क्षमता विकास र डिजिटल विश्वासका क्षेत्रमा सहकार्यका ठोस सम्भावनाहरू पहिचान गर्दै आगामी दिनमा संवाद र समन्वयलाई निरन्तरता दिने सहमति जनाएका छन्।

मन्त्री तिमिल्सिनाले मलेसियाली मन्त्री तथा प्रतिनिधिमण्डललाई रचनात्मक छलफलका लागि धन्यवाद दिँदै मलेसियासँगको मैत्रीपूर्ण सम्बन्ध र डिजिटल क्षेत्रमा साझेदारीलाई थप सुदृढ बनाउन नेपाल सरकार प्रतिबद्ध रहेको पुनः पुष्टि गरेको सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ।

Sajilo Visa
easy care