अमेरिकामा डाटा सेन्टर निर्माण खर्च र वित्तीय लागत बढ्दा सफ्टबैंकलाई त्रैमासिक ७ अर्ब डलर घाटा
काठमाडौं ।
जापानी प्रविधि लगानी कम्पनी सफ्टबैंक ग्रुपले अमेरिकामा डाटा सेन्टर निर्माणको उच्च लागत र वित्तीय भुक्तानी बढेका कारण चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा ७ अर्ब डलर खुद घाटा व्यहोरेको छ। कम्पनीले मंगलबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार जुलाईदेखि सेप्टेम्बरसम्मको अवधिमा यस्तो घाटा भएको हो।
यो नतिजाले कम्पनीका संस्थापक मासायोशी सनले डाटा सेन्टरमा गरेको ठूलो लगानी र च्याटजीपीटी निर्माता ओपनएआईको १३ प्रतिशत सेयर खरिदका लागि खर्च गरेको ६४ अर्ब ६० करोड डलरको सन्दर्भमा प्रविधि लगानीको ठूलो चुनौती सामना गर्न सफ्टबैंक कति सक्षम छ भन्ने प्रश्न थप उठाउने देखिएको छ।
सफ्टबैंकले अमेरिकामा एआई डाटा सेन्टर परियोजनाका लागि आवश्यक विद्युत् उत्पादन उपकरण खरिद गर्न आफ्नो एक सहायक कम्पनीले अग्रिम भुक्तानी गरेको रकममध्ये ३ अर्ब ७० करोड डलर घाटा भएको जनाएको छ। ओहायोको पाइक काउन्टीसहितका स्थानमा सञ्चालन गर्ने भनिएका डाटा सेन्टर परियोजनाका योजना पछि संशोधन गरिएका थिए। यद्यपि, कम्पनीले भविष्यमा गरिने खरिदमा २ अर्ब १० करोड डलरसम्म रकम फिर्ता पाउने अधिकार राखेको छ।
यसैगरी, त्रैमासिक अवधिमा कम्पनीको वित्तीय लागत दोब्बरभन्दा बढीले बढेर ४६२ अर्ब येन अर्थात् २ अर्ब ९० करोड डलर पुगेको छ।
रोयटर्सका अनुसार जुलाईदेखि सेप्टेम्बरसम्मको अवधिमा कम्पनीले १.१ ट्रिलियन येन खुद घाटा व्यहोरेको छ। अघिल्लो वर्षको सोही अवधिमा भने कम्पनीले २.५ ट्रिलियन येन नाफा कमाएको थियो। त्यतिबेला ओपनएआईमा रहेको आफ्नो सेयरको मूल्य बढेपछि सफ्टबैंकले ठूलो लगानीगत लाभ हासिल गरेको थियो।
सफ्टबैंकको आम्दानीमा ठूलो उतारचढाव हुने भएकाले यसको वित्तीय नतिजा अनुमान गर्न कठिन हुने गरेको छ। एलएसईजीले सर्वेक्षण गरेका तीन विश्लेषकले यस अवधिमा कम्पनीको नाफा २३३ अर्ब येनदेखि घाटा ११३ अर्ब येनसम्म हुन सक्ने अनुमान गरेका थिए।
एआई क्षेत्रमा चुनौती
गत साता भएको अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले ठूलो सफलता हासिल गरेपछि एआई क्षेत्रमा नियामकीय निगरानी बढ्ने अपेक्षा गरिएको छ। यसले एआई उद्योगबाट प्राप्त हुने प्रतिफलबारे लगानीकर्तामा बढ्दै गएको चिन्ता थप बढाएको छ।
वित्तीय नतिजा सार्वजनिक हुनुअघि मंगलबार सफ्टबैंकको सेयर मूल्य १४ प्रतिशतले बढेको थियो। तर, अन्य एआई कम्पनीका सेयरजस्तै लगानीकर्ताको घट्दो विश्वासका कारण यसको मूल्यमा पनि ठूलो गिरावट आएको छ। जुन महिनाको सुरुदेखि कम्पनीको सेयर मूल्य झन्डै आधा घटिसकेको छ।
यसै साता एआई क्षेत्रमा थप हलचल पैदा भएको छ। एआई क्षेत्रको विस्तारको प्रमुख अनुहार मानिने एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङ र चीनका लागि जासुसी गरेको आरोप लागेकी एक चिनियाँ व्यवसायी महिलाबीचको सम्बन्धबारे अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले अनुसन्धान गरिरहेको समाचार सार्वजनिक भएको छ। सफ्टबैंक यसअघि एआई चिप निर्माता एनभिडियाको प्रमुख लगानीकर्तामध्ये एक थियो। तर, अहिले कम्पनीसँग एनभिडियाको सेयर छैन।
सफ्टबैंकले उच्च ब्याजदरमा ठूलो परिमाणमा ऋण लिने गरेको विषय केही लगानीकर्ताका लागि चिन्ताको कारण बनेको छ।
त्रैमासिक अवधिमा सफ्टबैंकले ११ अर्ब ८७ करोड डलर बराबरको दीर्घकालीन ऋण, १० अर्ब डलर बराबरको अमेरिकी डलरमा जारी गरिएको कर्पोरेट बन्ड र १ ट्रिलियन येन बराबरको येनमा जारी गरिएको कर्पोरेट बन्डमार्फत ऋण लिएको थियो।
यसैगरी, चिप निर्माता कम्पनी आर्ममा रहेको आफ्नो सेयर धितो राखेर लिएको मार्जिन ऋण पनि सफ्टबैंकले ५ अर्ब डलरले बढाएको छ। यससँगै उक्त ऋण करिब २५ अर्ब डलर पुगेको छ।
टिकटकको मूल कम्पनी बाइटडान्समा सफ्टबैंकको लगानीबाट यस त्रैमासिक अवधिमा १ अर्ब ३० करोड डलर लगानीगत लाभ भएको थियो। तर, कम्पनीको लगानी सूचीमा रहेका सार्वजनिक रूपमा कारोबार हुने अन्य ठूला कम्पनीहरू कुपाङ र ग्राबको सेयर मूल्य भने घटेको थियो।