काठमाडौं ।
सोनीले एक्सपेरिया १ एट मोडलमा नयाँ अपरेटिङ सिस्टम उपलब्ध गराएपछि अब एक्सपेरिया १ सेभेन स्मार्टफोनमा पनि एन्ड्रोइड १७ अपडेट वितरण सुरु गरेको छ।
टेलिग्राफका अनुसार एक्सपेरिया १ सेभेन प्रयोगकर्ताहरूले रेडिटमा आफ्नो डिभाइसमा 71.2.A.2.35 संस्करणको अपडेट आएको जानकारी दिएका छन्। सुरुमा युरोपमा उपलब्ध गराइएको यो अपडेट आगामी केही दिनमा अन्य क्षेत्रमा पनि उपलब्ध हुने अपेक्षा गरिएको छ।
करिब १.१ जीबी आकारको यो अपडेटमा एक्सपेरिया १ एट का लागि जारी गरिएको संस्करणमा रहेका मुख्य सुविधाहरू समावेश छन्।
अपडेटमा द्रुत सेटिङ प्यानलको नयाँ डिजाइन, नयाँ वालपेपर र घडीका डिजाइन तथा एपका आइकनको आकार आफूअनुकूल परिवर्तन गर्न सकिने सुविधालगायत सुधार समावेश छन्।
प्रयोगकर्ताले एन्ड्रोइड १७ मा भएका सबै नयाँ सुविधा र परिवर्तनबारे जानकारी लिन यसको आधिकारिक परिवर्तन सूची पनि हेर्न सक्छन्।
प्रकाशित: ८ कार्तिक २०८३, आईतवार