Technology Khabar १३ भाद्र २०८१, बिहीबार
काठमाडौं ।
बुधबार प्रकाशित सर्वेक्षणअनुसार साइबर अपराध र अन्य तोडफोडका कार्यहरूले जर्मन कम्पनीहरूलाई गत वर्ष करिब २६७ अर्ब युरो अर्थात् २ खर्ब ९८ अर्बको क्षति पुर्याएको छ।
यो आँकडा अघिल्लो वर्षको तुलनामा २९ प्रतिशतले बढी रहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ।
उद्योग संघ बिटकमले सबै क्षेत्रका करिब १ हजार कम्पनीहरूको सर्वेक्षण गरेकामा ९० प्रतिशत कम्पनीहरूले आउँदो १२ महिनामा थप साइबर आक्रमणहरूको अपेक्षा गरेको पाइएको छ। यस्तै बाँकी १० प्रतिशतले त्यही स्तरको आक्रमणको अपेक्षा गरेका छन्।
सर्वेक्षणमा पत्ता लागेको तथ्य अनुसार लक्षित ७० प्रतिशत कम्पनीहरूले आक्रमणहरूलाई संगठित अपराधको रूपमा वर्णन गरेका थिए। साथै ८१ प्रतिशत कम्पनीहरूले ग्राहक डाटा, पहुँच डाटा र पासवर्ड, साथै पेटेन्ट जस्ता बौद्धिक सम्पत्तिसहित डेटा चोरीको रिपोर्ट गरेका छन्।
करिब ४५ प्रतिशत कम्पनीहरूले कम्तीमा एउटा आक्रमणमा चीनको हात रहेको आरोप लगाएका थिए जुन अघिल्लो वर्षको भन्दा ४२ प्रतिशतले बढी हो। यसबाहेक दोस्रो नम्ब्मा रुसलाई दोष लगाइएका आक्रमणहरू ३९ प्रतिशत रहेको समाचारमा उल्लेख छ।
‘जर्मन अर्थतन्त्रको लागि खतराको स्थिति गम्भीर बन्दैछ’, बिटकमका अध्यक्ष राल्फ विन्टरगर्स्टले एक विज्ञप्तिमा भने। उनले कम्पनीहरूले सुरक्षात्मक उपायहरूलाई अझै मजबुत बनाउनुपर्नेमा जोड दिए।
आक्रमणहरूको बढ्नुले कम्पनीहरूलाई डिजिटल सुरक्षामा आफ्नो आईटी बजेटको १७ प्रतिशत छुट्याउन प्रेरित गरेको छ, जुन गत वर्षको १४ प्रतिशत भन्दा बढी हो।
तर मात्र ३७ प्रतिशत कम्पनीहरूले आपूर्ति श्रृंखलामा सुरक्षासम्बन्धी घटनाहरूको प्रतिक्रिया दिन आपतकालीन योजना भएको बताएका सर्वेक्षणले देखाएको छ।
प्रकाशित: १३ भाद्र २०८१, बिहीबार