फिजीमा रहेको क्षेत्रीय संस्थाको नेटवर्कमा चिनियाँ ह्याकरको पहुँच: रिपोर्ट

  • Technology Khabar | २७ आश्विन २०८३, मंगलवार
फिजीमा रहेको क्षेत्रीय संस्थाको नेटवर्कमा चिनियाँ ह्याकरको पहुँच: रिपोर्ट
सांकेतिक तस्बिर

काठमाडौं ।

चीनसँग सम्बन्धित ह्याकरहरूले सन् २०२६ को जुलाईदेखि अगस्टसम्म फिजीको राजधानी सुवामा रहेको एक क्षेत्रीय संस्थाको नेटवर्कमा अनधिकृत पहुँच बनाएको अमेरिकी दूतावासले जनाएको छ।

सोमबार सार्वजनिक जानकारीअनुसार अमेरिकी दूतावासले साइबर आक्रमणको आशङ्काबारे फिजी सरकार र प्रभावित संस्थालाई जानकारी गराएको थियो। साथै नेटवर्क सुरक्षित बनाउन आवश्यक प्राविधिक सुझावसमेत दिएको दूतावासले जनाएको छ।

दूतावासका अनुसार ह्याकरहरूले केही दिनसम्म संस्थाको नेटवर्कमा पहुँच कायम राखेका थिए। तर, दूतावासले प्रभावित क्षेत्रीय संस्थाको नाम भने खुलाएको छैन।

रोयटर्सका अनुसार फिजी, किरिबाटी, नाउरु र टुभालु हेर्ने अमेरिकी दूतावासले घटनाबारे सम्बन्धित निकायलाई जानकारी दिएको हो। घटनाबारे प्रतिक्रिया माग्दै रोयटर्सले गरेको अनुरोधमा फिजी सरकारले तत्काल जवाफ दिएको थिएन।

यसअघि अक्टोबर ९ मा अमेरिकी न्याय मन्त्रालयले चीनको एक सूचना प्रविधि कम्पनीसँग मिलेर काम गरेको आरोप लागेका ह्याकरहरूको गतिविधि रोक्न सातवटा इन्टरनेट डोमेन नियन्त्रणमा लिएको थियो। ती डोमेन अमेरिकी तथा अन्य देशका महत्त्वपूर्ण पूर्वाधारमा कमजोरी पत्ता लगाउन र साइबर आक्रमण गर्न प्रयोग भएको अमेरिकी अधिकारीहरूको आरोप थियो।

त्यस्तै साइबर सुरक्षा कम्पनी प्रुफपोइन्टले यसै महिनाको सुरुतिर सार्वजनिक गरेको विवरणअनुसार, चीनसँग सम्बन्धित ह्याकरहरूले कम्तीमा सन् २०२५ देखि अनुसन्धान संस्था, विश्वविद्यालय र कानुनी फर्ममा कार्यरत व्यक्तिका पासवर्ड चोर्न कृत्रिम बुद्धिमत्ता (एआई) विज्ञको परिचय दिएर गतिविधि गरिरहेका छन्।

प्रकाशित: २७ आश्विन २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार