ताजा समाचार

ह्याक भएको वनपासवर्ड स्वीकार, तर प्रयोगकर्ताका भल्ट सुरक्षित रहेको दाबी

ह्याक भएको वनपासवर्ड स्वीकार, तर प्रयोगकर्ताका भल्ट सुरक्षित रहेको दाबी
तस्बिर: टेकक्रञ्च
Global IME Bank

पासवर्ड व्यवस्थापन सेवा प्रदायक कम्पनी वनपासवर्डले आफ्नो प्रणालीमा आक्रमणकारीले प्रवेश गरी केही ग्राहकको विवरण चोरेको स्वीकार गरेको छ। तर कम्पनीले प्रयोगकर्ताका पासवर्ड भल्ट र लगइन विवरण सुरक्षित रहेको जनाएको छ।

नोभेम्बर १९ मा कम्पनीले एक कर्मचारीको कर्पोरेट गिटहब खाता ह्याक भएको संकेत पाएपछि घटनाको अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानका क्रममा आक्रमणकारीले उक्त खातामार्फत कम्पनीको स्रोत कोडमा पहुँच बनाएको र ब्याकइन्ड प्रणालीमा हानिकारक कोड राखेको पत्ता लागेको कम्पनीले जनाएको छ।

त्यसपछि आक्रमणकारीले ग्राहकका नाम र इमेल ठेगाना, खाता खोलिएको मिति तथा पछिल्लो पटक लगइन गरेको समयलगायतका विवरण डाउनलोड गर्न सकेको थियो। उनीहरूले प्रयोगकर्ताका सार्वजनिक कुञ्जी (पब्लिक की) पनि चोरेका थिए। तर, वानपासवर्डले यसबाट प्रयोगकर्ताको सुरक्षामा कुनै असर नपर्ने जनाएको छ। आक्रमणकारीले कम्पनीको स्रोत कोड पनि चोरेका थिए, तर त्यसमा ग्राहकका विवरण समावेश नभएको कम्पनीले स्पष्ट पारेको छ।

वनपासवर्डले भनेको छ, “तपाईंको भल्टमा रहेका डेटा, त्यसमा सुरक्षित गरिएका सामग्री र तिनलाई सुरक्षित राख्ने कुञ्जीहरू सुरक्षित छन् र यस घटनाबाट प्रभावित भएका छैनन्।”

कम्पनीका अनुसार उससँग प्रयोगकर्ताका वास्तविक पासवर्ड, खाता पुनःप्राप्ति कुञ्जी तथा अन्य लगइन विवरण र भल्ट सुरक्षित राख्ने गोप्य कुञ्जीहरूमा पहुँच हुँदैन। त्यसैले आक्रमणकारीले ती विवरण चोर्न सकेनन्।

इन्ग्याजेटका अनुसार साइबर आक्रमणबारे जानकारी पाएपछि वानपासवर्डले चोरी भएको टोकन रद्द गरेको, प्रभावित गिटहब खाता निष्क्रिय बनाएको र यस्तै प्रकारका आक्रमण पहिचान गर्न नयाँ निगरानी उपकरण थपेको जनाएको छ।

प्रयोगकर्ताका भल्ट सुरक्षित रहेको बताए पनि कम्पनीले फिसिङ आक्रमणप्रति सतर्क रहन आग्रह गरेको छ। आक्रमणमा प्रयोगकर्ताका इमेल ठेगाना चोरी भएकाले तिनलाई नक्कली खाता पुनःप्राप्ति र निमन्त्रणा इमेल पठाएर पासवर्ड चोर्ने प्रयासमा प्रयोग गर्न सकिने कम्पनीले चेतावनी दिएको छ।

Sajilo Visa
easy care