सामाजिक सञ्जालमा वाक स्वतन्त्रताको नाममा बेथिति: सरोकारवालहरु

  • Technology Khabar | २७ आश्विन २०८३, मंगलवार
सामाजिक सञ्जालमा वाक स्वतन्त्रताको नाममा बेथिति: सरोकारवालहरु
सांकेतिक तस्बिर। फ्रिपिक डटकमको सहयोगमा।

काठमाडौं ।

पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग बढेको जनाउँदै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।

राष्ट्रिय मानवअधिकार आयोगद्वारा नेपाल पत्रकार महासङ्घ चितवनसँगको सहकार्यमा आज आयोजित ‘अभिव्यक्ति स्वतन्त्रताको अवस्था’ विषयक छलफलमा सहभागीहरुले सामाजिक सञ्जालमार्फत वाक स्वतन्त्रताको नाममा मनोमानी बढेको बताएका हुन्।

नेपालमा अभिव्यक्ति स्वतन्त्रताको अवस्थाबारे आयोगले देशव्यापी रुपमा गरिरहेको अध्ययनमा आयोजित कार्यक्रममा पत्रकार, कानुन व्यवसायी, मानवअधिकारकर्मीलगायतले अभिव्यक्ति स्वतन्त्रताको नाममा सामाजिक सञ्जालमा अमर्यादित गतिविधि बढेको बताए।

उनीहरुले आफ्ना अभिव्यक्ति गर्दा अर्काको मानमर्दन हुन्छ भन्ने विषयमा ख्याल नगरिएको पक्षलाई सुधार गर्न आवश्यक रहेको बताए। नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले अभिव्यक्ति स्वतन्त्रताको रक्षाका सबैको चासोको विषय भएको बताए। उनले भने, ‘सरकारी निकाय र महासङ्घ मिलेर अभिव्यक्ति स्वतन्त्रताको पक्षमा काम गर्नुपर्छ।’

महासङ्घ चितवनका अध्यक्ष वसन्त पराजुली र नेपाल बार एसोसियसन चितवनका अध्यक्ष फुलमायाँ रानाभाटले संविधान प्रद्धत्त अभिव्यक्ति स्वतन्त्रताको दुरुपयोग गरिनु नहुने बताए। थारु पत्रकार सङ्घका केन्दीय अध्यक्ष सन्तकुमार चौधरीले भने कुनै राजनीतिक नेताका विषयमा जायज टिप्पणी गर्दासमेत आफूहरु विरुद्ध खनिने गरेको धारणा व्यक्त गरे।

पत्रकार प्रतिमा सिलवाल र सरिता पौडेलले कतिपय गोपनीयता र संवेदनशील विषयलाई ख्याल नै नगरी सामाजिक सञ्जालमा जे पनि लेख्ने र बोल्ने गरेको पाइएकाले त्यसलाई सच्याउन आवश्यक रहेको बताए।

राष्ट्रिय मानवअधिकार आयोगले अभिव्यक्ति स्वतन्त्रताको अवस्थाको बारेमा अध्ययन गर्न विषय विज्ञका रुपमा नियुक्त प्रा डा घमराज लुइँटेलले अभिव्यक्ति स्वतन्त्रताबारे उठेको प्रश्नबारे देशव्यापी रुपमा अध्ययन गर्न लागिएको बताए।–रासस

प्रकाशित: २७ आश्विन २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार