Google

गुगलले एन्ड्रोइड एप डेभलपरका ठेगाना सार्वजनिक गर्ने

गुगलले एन्ड्रोइड एप डेभलपरका ठेगाना सार्वजनिक गर्ने
Global IME Bank

सन् २०२७ मार्च १ देखि गुगलले एन्ड्रोइड एप डेभलपरका फोन नम्बर र ठेगाना उनीहरूका एपसँगै सार्वजनिक रूपमा देखाउने भएको छ। यसपछि विश्वभरका प्रयोगकर्ताले ती विवरण हेर्न सक्नेछन्।

द इलेक्ट्रिकले जनाएअनुसार गुगलको यो निर्णयप्रति विशेषगरी घरबाटै काम गर्ने साना डेभलपरहरूले आलोचना गरेका छन्। उनीहरूमध्ये केहीले आफ्नो वास्तविक ठेगाना सार्वजनिक गर्न नपरोस् भनेर कार्यालय भाडामा लिन थालेका छन्।

एक स्वतन्त्र डेभलपरले उक्त सञ्चारमाध्यमसँग भनेका छन्, “डेभलपरको घरको ठेगाना सार्वजनिक गर्नु उनीहरूको गोपनीयतामाथिको हस्तक्षेप हो।”

इन्ग्याजेटका अनुसार गुगलले पनि एप्पलले जस्तै अब डेभलपरलाई बेलायतको कानुन र युरोपेली संघको डिजिटल सेवा ऐन (डीएसए) अनुसार आफूलाई व्यावसायिक सेवा प्रदायक (ट्रेडर) का रूपमा वर्गीकरण गर्ने वा नगर्ने घोषणा गर्नुपर्ने व्यवस्था गरेको छ।

गुगलका अनुसार एपबाट नियमित रूपमा कुनै पनि माध्यमबाट आम्दानी गर्ने उद्देश्य राखेका र कारोबार नियमित रूपमा गरिरहेका डेभलपरले आफूलाई ट्रेडरका रूपमा वर्गीकरण गर्नुपर्नेछ। डेभलपरहरूले सन् २०२७ फेब्रुअरी १ भित्र आफ्नो विवरण घोषणा गरिसक्नुपर्नेछ।

आफूलाई ट्रेडरका रूपमा वर्गीकरण गरेपछि उनीहरूले आफ्नो व्यावसायिक पहिचान, फोन नम्बर र ठेगाना बुझाउनुपर्नेछ। गुगलले यी विवरण विश्वभरका प्रयोगकर्तालाई देखाउनेछ। बेलायत र युरोपेली आर्थिक क्षेत्रका प्रयोगकर्ताले भने डेभलपरको व्यावसायिक विवरणका साथै उनीहरूले गरेको स्वघोषणा पनि हेर्न सक्नेछन्।

यी आवश्यकताहरू पूरा नगरेमा गुगलले सम्बन्धित डेभलपरका एप अपडेट सार्वजनिक हुन रोक लगाउन सक्छ। अन्ततः कम्पनीले ती एप युरोपमा मात्र नभई विश्वका सबै क्षेत्रबाट प्ले स्टोरबाट हटाउन पनि सक्छ।

द भर्जका अनुसार एप्पलले ठेगानाका रूपमा पोस्ट बक्स प्रयोग गर्न अनुमति दिन्छ, तर गुगलले यस्तो ठेगाना स्वीकार गर्दैन। यसले एपबाट आम्दानी गरिरहँदा पनि आफ्नो व्यक्तिगत पहिचान र ठेगाना सुरक्षित राख्न चाहने डेभलपरलाई विकल्प खोज्नुपर्ने अवस्था सिर्जना गरेको छ।

एप्पलले पनि डेभलपरका फोन नम्बर र ठेगाना गुगलले जस्तै विश्वभर सार्वजनिक गर्ने छैन। उसले सम्बन्धित कानुन लागू भएका युरोपेली देशहरूमा मात्र ती विवरण देखाउनेछ।

Sajilo Visa
easy care