Technology Khabar ८ भाद्र २०८१, शनिबार
काठमाडौं ।
गुगलको स्याटेलाइट एसओएस फिचर अब पिक्सेल ९ सिरिजमा रोल आउट भएको छ। फोनहरू अनावरण गर्दा यसको घोषणा गरिएको थियो। यद्यपि हाल यो अमेरिकामा मात्र उपलब्ध भएको र पहिलो दुई वर्षको लागि निःशुल्क हुने जनाइएको छ। त्यसपछि भने सेवाको लागि कति शुल्क लाग्ने हो भन्ने बारेमा स्पष्टता नभएको थप उल्लेख गरिएको छ।
स्याटेलाइट एसओएस प्रयोग गर्नको लागि गुगल मेसेजेसलाई तपाईंको पिक्सेल ९ मा डिफल्ट मेसेजिङ एपका रुपमा हुनु पर्ने आवश्यकताको उल्लेख गरिएको छ। तपाईंले सेवा लाइभ भएको जानकारी दिने नाृटिफिकेसन (सूचना) प्राप्त गरिसकेपछि यसको बारेमा थप जानकारी प्राप्त गर्नको लागि सेटिङ्गस <सेफ्टी एण्ड इमर्जेन्सी <स्याटेलाइट एसओएस मा गएर यसले कसरी काम गर्दछ भनेर देखाउने डेमो हेर्न सकिने जनाइएको छ।
स्याटेलाइट एसओएस मार्फत इमर्जेन्सी सर्भिसेस (आपतकालीन सेवाहरू) लाई सम्पर्क गर्नु अघि तपाईंले आफ्नो विशेष परिस्थितिको लागि उत्तम मद्दत प्राप्त गर्न सुनिश्चित गर्नका लागि आफ्नो इमर्जेन्सी (आपतकालिन अवस्था) बारे केही प्रश्नहरूको जवाफ दिन आवश्यक पर्ने जनाइएको छ।
त्यसैगरी तपाईंको फोनले स्याटेलाइट एसओएस प्रयोग गर्दा यसले तपाईंको नाम, इमेल, फोन नम्बर, स्थान, उपकरण विवरणहरू र आपतकालीन सम्पर्क विवरणहरू इमर्जेन्सी सर्भिसेस (आपतकालीन सेवाहरू) र स्याटेलाइट (उपग्रह) सेवा प्रदायकहरूसँग साझेदारी गर्दछ भनेर ध्यान दिनको लागि आग्रह गरिएको छ।
गुगलले ब्याकएन्डको लागि स्काइलोसँग साझेदारी गरेको छ भने गार्मिनले आपतकालीन प्रतिक्रिया ह्यान्डल गर्दैछ भनि जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: ८ भाद्र २०८१, शनिबार