Highlight News

ओपनरिचको फाइबर इन्टरनेट कनेक्सन एक करोड पुग्यो

ओपनरिचको फाइबर इन्टरनेट कनेक्सन एक करोड पुग्यो
तस्बिर: टेलिकम्स डटकम
Global IME Bank

ओपनरिचको फाइबर इन्टरनेट कनेक्शनको सङ्ख्या एक करोड पुगेको छ।

बेलायतको दूरसञ्चार कम्पनी बीटीले बिहीबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार उसको नेटवर्क शाखा ओपनरिचले गत महिना पूर्ण फाइबर इन्टरनेटमा जोडिएका घर तथा व्यावसायिक प्रतिष्ठानको संख्या एक करोड पुर्‍याएको छ। कम्पनीले अपेक्षाभन्दा राम्रो वित्तीय नतिजा सार्वजनिक गरेपछि उसको सेयर मूल्य पनि बढेको छ।

बेलायतको प्रमुख दूरसञ्चार कम्पनी बीटीले दोस्रो त्रैमासिकको वित्तीय नतिजा सार्वजनिक गर्दै आफ्नो नेटवर्क शाखा ओपनरिचमा पूर्ण फाइबर इन्टरनेटको माग अहिलेसम्मकै उच्च रहेको जनाएको छ।

ओपनरिचले चालु आर्थिक वर्षको पहिलो छ महिनामा ११ लाखभन्दा बढी नयाँ फाइबर कनेक्सन थपेको छ। रोचक कुरा के छ भने गत वर्ष पनि यही अवधिमा कम्पनीले ११ लाख नयाँ कनेक्सन थपेको जनाएको थियो, जुन त्यतिबेला कम्पनीको कीर्तिमान थियो। यद्यपि, यी तथ्यांकमा राउन्डिङ गरिएको हुन सक्छ।

कम्पनीले दोस्रो त्रैमासिकको छुट्टै तथ्यांक सार्वजनिक गरेको छैन। तर पहिलो त्रैमासिकमा ५ लाख ७४ हजार नयाँ कनेक्सन थपिएको तथ्यांकका आधारमा दोस्रो त्रैमासिकमा नयाँ कनेक्सन थपिने दर केही घटेको देखिन्छ।

११ लाख नयाँ कनेक्सन थपिएसँगै ओपनरिचको फाइबर टु द प्रिमिसेस (एफटीटीपी) ग्राहक आधार ९९ लाख पुगेको छ। यसको अर्थ कम्पनीका कुल ब्रोडब्यान्ड लाइनमध्ये आधाभन्दा बढीमा पूर्ण फाइबर सेवा पुगेको छ। यद्यपि, कम्पनीको कुल ब्रोडब्यान्ड लाइन संख्या भने घटिरहेको छ।

दोस्रो त्रैमासिकमा कम्पनीका १ लाख ७५ हजार ब्रोडब्यान्ड लाइन घटेका छन्। यो संख्या अपेक्षाअनुसार नै रहेको कम्पनीले जनाएको छ। बीटीले चालु आर्थिक वर्षभरि करिब ८ लाख ब्रोडब्यान्ड लाइन घट्ने अनुमान गरेको छ।

टेलिकम्स डटकमका अनुसार ओपनरिचको एफटीटीपी नेटवर्कको पहुँच अहिले २ करोड ४१ लाख घर तथा व्यावसायिक प्रतिष्ठानसम्म पुगेको छ। यो संख्या छ महिनामा १२ लाखले बढेको हो। यससँगै फाइबर सेवा प्रयोग गर्ने दर ४१ प्रतिशत पुगेको छ।

त्रैमासिक अवधि समाप्त भएपछि अक्टोबरमा कम्पनीले पूर्ण फाइबरमा जोडिएका घर तथा व्यावसायिक प्रतिष्ठानको संख्या एक करोड पुर्‍याएको हो।

ओपनरिचको फाइबर सेवाको बढ्दो मागले बीटीको वित्तीय नतिजामा पनि प्रभाव पारेको छ।

चालु आर्थिक वर्षको पहिलो छ महिनामा बीटीको आम्दानी एक प्रतिशतले बढेर ८ अर्ब ८० करोड पाउन्ड पुगेको छ। यद्यपि, भ्वाइस सेवाबाट हुने आम्दानीमा निरन्तर गिरावट आएका कारण सेवा आम्दानी भने केही घटेको छ।

समायोजित ईबीआईटीडीए (ब्याज, कर, मूल्यह्रास तथा परिशोधनअघिको आम्दानी) पनि एक प्रतिशतले बढेर ४ अर्ब १० करोड पाउन्ड पुगेको छ। भ्वाइस सेवाबाट हुने आम्दानीमा आएको गिरावटको प्रभाव खर्च कटौतीबाट पूर्ति भएको कम्पनीले जनाएको छ।

यसमा कर्मचारी खर्च घटाउनु पनि समावेश छ। समीक्षा अवधिमा कम्पनीले आफ्नो कर्मचारी संख्या ११ प्रतिशतले घटाएर करिब ९० हजारमा झारेको छ। मुख्य रूपमा ओपनरिचमा कर्मचारी कटौती गरिएको हो। यसका साथै कम्पनीले अन्य क्षेत्रमा पनि खर्च घटाउने कार्यक्रम सञ्चालन गरेको छ।

दोस्रो त्रैमासिकमा मात्रै कम्पनीको आम्दानी दुई प्रतिशतले बढेर ४ अर्ब ४० करोड पाउन्ड पुगेको छ भने समायोजित ईबीआईटीडीए तीन प्रतिशतले बढेर २ अर्ब १० करोड पाउन्ड पुगेको छ।

यी दुवै नतिजा बीटीले उपलब्ध गराएको विश्लेषकहरूको औसत अनुमानभन्दा केही राम्रो हुन्। विश्लेषकहरूले उक्त त्रैमासिकमा कम्पनीको आम्दानी एक प्रतिशत र नाफा ०.४ प्रतिशत मात्रै बढ्ने अनुमान गरेका थिए।

वित्तीय नतिजापछि बीटीको सेयर मूल्यमा सकारात्मक प्रभाव परेको छ। यो समाचार तयार पार्दासम्म कम्पनीको सेयर मूल्य प्रतिकित्ता २४० पेन्सभन्दा केही कममा कारोबार भइरहेको थियो। यो सात वर्षभन्दा बढी अवधिकै उच्च मूल्य हो।

बीटीकी प्रमुख कार्यकारी अधिकृत एलिसन किर्कबीले भनिन्, “प्रतिस्पर्धात्मक बजारमा रणनीतिक प्रगति कायम राख्दै बीटीले पहिलो छ महिनामा राम्रो नतिजा हासिल गरेको छ। यस अवधिमा आम्दानी, ईबीआईटीडीए र ग्राहक सन्तुष्टि तीनै क्षेत्रमा वृद्धि भएको छ।”

उनले भनिन्, “बेलायत केन्द्रित हाम्रो रणनीति र कम्पनी रूपान्तरण कार्यक्रमले स्पष्ट रूपमा नतिजा दिइरहेको छ। पहिलो छ महिनामा वार्षिक आधारमा ३१ करोड २० लाख पाउन्ड खर्च बचत गरेका छौँ। कम्पनीको संरचनालाई सरल र आधुनिक बनाउने काम पनि जारी छ।”

उनका अनुसार भेराइजनसँग प्रस्तावित अन्तर्राष्ट्रिय संयुक्त उद्यम सम्झौता तीव्र गतिमा अघि बढिरहेको छ। साथै, कम्पनीले टकटकको अधिग्रहण गरेर देशका लाखौँ ग्राहकको सेवा सुरक्षित गर्नुका साथै आफ्ना सबै सरोकारवालाका लागि मूल्य सिर्जना गर्ने काम गरेको छ।

बेलायतको बजारमा टकटक अधिग्रहण सम्झौताबारे नियामकीय दृष्टिकोणबाट अझै छलफल भइरहेको छ। तर बीटीले आफ्नो धारणा परिवर्तन गरेको छैन। वित्तीय नतिजा सार्वजनिक गर्दै कम्पनीले उक्त सम्झौतासम्बन्धी नियामकीय अनुसन्धानको नतिजा अझै पर्खिरहेको जनाएको छ।

त्यसैगरी, कम्पनीले नयाँ थोक सेवा सम्झौताबारे पनि केही उल्लेख गरेको छैन। यस क्षेत्रमा भर्जिन मिडिया ओटु र ओपनरिचबीच सम्झौता हुन सक्ने विषयलाई उद्योगले चासोका साथ हेरिरहेको छ।

बीटीको प्रमुख प्रतिस्पर्धीसमेत रहेको भर्जिन मिडिया ओटुले यसै साताको सुरुवातमा फाइबर नेटवर्क विस्तारमा लगानी रोक्ने र आफ्नो हालको नेटवर्क पहुँचभन्दा बाहिर सेवा विस्तार गर्न थोक सेवा सम्झौताका विकल्प खोज्ने घोषणा गरेको थियो।

यस्तो सम्झौता भएमा ओपनरिचका लागि ठूलो उपलब्धि हुनेछ। सम्झौता हुने अवस्था आएमा कम्पनीले त्यसको उपलब्धिबारे सार्वजनिक रूपमा जानकारी गराउन पछि हट्ने छैन।

Sajilo Visa
easy care