Technology Khabar २५ श्रावण २०८१, शुक्रबार
काठमाडौं ।
भेनेजुयलाका राष्ट्रपति निकोलस मडुरोले देशभर १० दिनका लागि माइक्रोब्लगिङ साइट एक्समा प्रतिबन्ध लगाउन आदेश दिए छन्। उनले एक्सका मालसक इलन मस्कमाथि भेनेजुयलाको विवादास्पद राष्ट्रपतीय निर्वाचनबारे भ्रामक सूचना फैलाउन उक्त प्लेटफर्मको प्रयोग गरेको आरोप पनि लगाएका छन्।
भेनेजुयलाको राजधानी काराकसमा रहेका एसोसियट प्रेसका पत्रकारका अनुसार बिहीबार साँझदेखि दुईओटा निजी कम्पनी तथा एउटा सरकारी स्वामित्वको आईएसपीमार्फत् एक्समा पोस्टहरु लोड हुन छोडेका थिए।
‘इलन मस्क एक्सका मालिक हुन् र उनले सामाजिक सञ्जालका सबै नियमहरु आफैंले उल्लङ्घन गरेका छन्,’ मडुरोले सरकार समर्थक समूहको समारोहमा मन्तव्यका क्रममा भने। उनले मस्कलाई द्वेष फैलाएको आरोप पनि लगाएका छन्। यसबाहेक उनले राजनैतिक अस्थिरताका लागि आफ्ना विपक्षीहरुले उक्त सामाजिक सञ्जालको प्रयोग गरेको पनि आरोप लगाए।
भेनेजुयलाका राष्ट्रपतिले त्यहाँको राष्ट्रिय दूरसञ्चार आयोग कोनाटेलले तयार गरेको प्रस्तावमा रहेको निर्णयमा हस्ताक्षर गरेको एपीन्युजले उल्लेख गरेको छ। उक्त निर्णयमा यसअघि ट्विटरका नामले चिनिने सामाजिक सञ्जाल एक्सलाई देशभरी १० दिन चल्न नदिने र त्यसपछि उनीहरुले आफ्ना कागजात पेश गर्ने उल्लेख छ।
राष्ट्रपति मडुरोले एक्समाथि चालिएको कदमको पूरा प्रक्रियागत विवरण भने नखुलाएको समाचारमा उल्लेख छ। यसबारे बुझ्न एपीले पठाएको पत्रको एक्सको प्रेस कार्यालयले तत्काल कुनै प्रतिक्रिया नदिएको बताइएको छ।
प्रकाशित: २५ श्रावण २०८१, शुक्रबार