पानासोनिकले सार्वजनिक गर्यो १०० घण्टासम्म ब्याट्री टिक्ने वायरलेस हेडफोन
काठमाडौं ।
पानासोनिकले बजारमा आफ्ना नयाँ वायरलेस हेडफोनहरू ल्याएको छ। पानासोनिक आरबी-एचजे८०० हेडफोनहरूमा १०० घण्टासम्म टिक्ने ब्याट्री क्षमता छ। यसमा ‘एक्टिभ नोइज क्यान्सिलेसन’ सुविधाका साथै ४० एमएमका ड्राइभरहरू जडान गरिएका छन्। साथै, कम्पनीले यसमा ‘बास’ लाई अझ सशक्त बनाउने सुविधा पनि समावेश गरेको छ। फोल्डेबल डिजाइनका कारण यी हेडफोनहरू सानो आकारका छन् र राख्न वा बोक्न निकै सहज छन्। पानासोनिक आरबी-एचजे८०० (RB-HJ800) ले ब्लुटुथ कनेक्टिभिटीलाई समर्थन गर्छ।
पानासोनिक आरबी-एचजे८०० को मूल्य
पानासोनिकले घरेलु बजारमा आरबी-एचजे८०० हेडफोनहरू सार्वजनिक गरेको छ, जसको मूल्य १४,८५० जापानी येन तोकिएको छ। यी हेडफोनहरू कम्पनीको आधिकारिक वेबसाइटमा सूचीकृत छन् र पानासोनिकको जापानी अनलाइन स्टोरमार्फत खरिद गर्न सकिन्छ। प्यानासोनिक आरबी-एचजे८०० कालो, सेतो र गुलाबी गरी तीन रङमा उपलब्ध छन्। यसको बिक्री नोभेम्बर १८ देखि सुरु हुनेछ।
पानासोनिक आरबी-एचजे८०० का विशेषताहरू
पानासोनिक आरबी-एचजे८०० हेडफोनहरूमा ४० एमएमका ड्राइभरहरू छन्। आरामदायी अनुभवका लागि यसको हेडब्यान्डमा नरम प्याडिङ र कान राख्ने भागमा कुसनको प्रयोग गरिएको छ। यसमा ‘बास’ बढाउने (bass enhancer) सुविधा पनि छ, जसलाई हेडफोनमा रहेको छुट्टै बटन थिचेर अन वा अफ गर्न सकिन्छ। साथै, यसमा ‘एक्टिभ नोइज क्यान्सिलेसन’ (ANC) को सुविधा पनि उपलब्ध छ।
पानासोनिकका अनुसार यी हेडफोनहरूको ब्याट्री क्षमता निकै प्रभावशाली छ; एक पटक पूर्ण चार्ज गर्दा यी १०० घण्टासम्म चल्न सक्छन्। ‘एक्टिभ नोइज क्यान्सिलेसन’ अन गरिएको अवस्थामा भने यसको ब्याट्री ७२ घण्टासम्म टिक्छ। प्यानासोनिकका अनुसार, कम्पनीले अहिलेसम्म उत्पादन गरेका हेडफोनहरूमध्ये सबैभन्दा लामो ब्याट्री क्षमता भएका हेडफोनहरू यिनै हुन्।