Technology Khabar १ असार २०८१, शनिबार
काठमाडौं ।
सञ्चार क्षेत्रका सरोकारबालाहरुले नेपाली सञ्चार गृहमा एआईको प्रयोग बढाउनुपर्ने बताएका छन्।
राजधानीमा शनिबार आयोजित राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलनअन्तर्गत ‘द फ्युचर अफ मिडिया: एआई इनोभेसन इन ग्लोबल एण्ड लोकल कन्टेक्स्ट’ सत्रमा बोल्दै विज्ञहरुले आर्थिक, सामाजिक र राजनीतिक कारणले नेपाली सञ्चार गृहमा एआईको प्रयोग हुन नसकेको उल्लेख गरेका हुन्।
क्यानडाको ओटावा विश्वविद्यालयका प्राध्यापक डा. भानुभक्त आचार्यले नेपालका सञ्चार माध्यमबाट एआई साक्षरता नभएको बताए।
‘नेपालका कतिपय ठाउँमा च्याटजीपीटी र एआई भन्ने छुट्टै बुझाइ रहेछ। ट्राइ गरेको देखिन्छ।केहीले फोटोको लागि प्रयोग गरेको देखिन्छ। तर जेनेरेटिक रुपमा प्रयोग हुन सकेको छैन। खासगरी सामाचार समग्री निर्माणमा न्युज रुममा प्रयोग भएको देखिँदैन। केहीले हेडलाइन र लिड लाइन राख्न प्रयोग गरेको भन्ने सुनाएका छन्। च्याट जिपीटी फोरले झण्डै झण्डै हाल्ने खालको समाचार दिन्छ। तर एआई लिटरेसी छैन,’ उनले भने, ‘एआई टुल्सलाई मिडियामा मज्जाले प्रयोग गर्न सकिन्छ । क्रस फेरिफिकेसन, हेडलाइन म्याचिङलगायत धेरै काम गर्न सकिन्छ। यसलाई मिडिया हाउसमा प्रयोग गर्नुपर्छ।’
एआईमा न्युजरुमले लगानी गर्नुपर्ने उनको भनाइ थियो । ‘चलेकै छ भन्ने हिसाबले चलेको छ । चुनौती आत्मसात गर्ने भन्दा लतारिएर जाने, घिसरेर जाने छ । यसलाई अन्त्य गर्नुपर्छ,’ उनले भने ।
आचार्यले एआईको विकासले सञ्चारकर्मी रुपान्तरित हुनुपर्ने औल्याएको बताए । ‘अल्छि जागिरको पत्रकार त खोस्छ खोस्छ । त्यो भन्दा माथि थिंक गरेर आउनुभयो भने कायम रहन्छ । अब अल्छि गर्ने समय गयो भन्ने सन्देश हो एआई । एआई टुल्स थाहा पाउनुपर्यो, त्यसको प्रयोग गर्दा राम्रो सम्पादन हुन्छ,’ उनले भने, ‘पत्रकारिता जे आए पनि मर्दैन । पत्रकारको कुरा आफ्नो क्षमता अभिवृद्धि गरिएन भने पछाडि परिन्छ । जागिर जान्छ र अरुमा सिफ्ट हुनपर्ने अवस्था आउँछ ।‘
काठमाडौं विश्वविद्यालयका कम्प्युटर साइन्स र इन्जिनियरिङ विभागका प्राध्यापक डा. सुदन झाले कन्टेन्ट डेलिभरीमा मिडिया संवेदनशील हुन जरुरी रहेको बताए ।
‘मिडियामा ट्रेन्डिङ के छ भनेर हेरौं । सिस्टमले यसमा बढी हिट छ त्यही भएर यो सत्य हो भन्ने ठान्छ । यो डिसास्टर हुनसक्छ । तर यसको जिम्मेदार त हामी नै हो । सिस्टमले इथिकल वायसनेस हटाउनेमा केन्द्रित हुनुपर्छ । होइन भने समाजलाई रेसिजमतिर पनि लानसक्छ । कन्टेन्ट डेलिभरीमा मिडिया संवेदनशील हुन जरुरी छ,’ उनले भने । एआईलाई तथ्याजाँच र ज्ञानमा प्रयोग गर्न सकिने उनको भनाइ थियो ।
अनलाइन खबरका प्रधान सम्पादक शिव गाउँलेले नेपाली सञ्चार गृहमा एआईको सीमित प्रयोग रहेको बताए ।
‘हामीले केही इमेज तयार पार्दा एआईको प्रयोग गरेका छौं । समाचार, विचार, सम्पादकीय टिप्पणी निर्माणमा सहभागी भइरहँदा त्यहाँ सहभागी नहुने एउटा मेसिन छ । जसले सामान्यीकरणभन्दा धेरै ज्ञान राखेको छ। त्यसक्रममा हामीले तस्बिरको अभ्यासका लागि प्रयोग गर्यौं । जुन रमाइलो थियो,’ उनले सुनाए, ‘संसदमा निजामति विधेयक अझै आएन, त्यससँग सामग्री राख्न इमेज चाहियो, एआईले चार जना टक्क टेबलमा उभिएको घरको तस्बिर दियो । जहाँ सबै प्रहरी छन् । अर्को कमाण्ड दिँदा नेपालीपन दिँदैन । फेरि माग्दा चन्द्र सूर्य झण्डा राखेर दियो । हाम्रो समाज र विविधता समेट्न सकेन । निजामतिको विषय इमेजमा बदल्ने कुरा जटिल रहेछ ।’
नेपाली न्युज रुम टेक्नोलोजीमा अभ्यस्त भइसकेको भन्दै गाउँलेले थपे, ‘एआईबारे सुनेको छ, जानुपर्छ भन्ने छ । तर विभिन्न बाध्यताहरु, संरचनाहरुको कारणले जान सकेको छैन । यसमा गएन भने चुनौती छ भन्ने छ । तर अभ्यासमा गइसकेको छैन । सैद्धान्तिक ज्ञानको अभाव छ । एआईले के गर्छ, के फाइदा हुन्छ भन्ने स्पष्ट छैन । लिटरेचर रिभ्यु, पुरानाहरु खोज्का लागि एआई प्रयोग गर्न सकिन्छ भन्ने चेत छैन । प्रश्न र नयाँपनमा विवेकको प्रयोग गरेर एआई हामीसँग सँगसँगै हुन्छ कि पछि हुन्छ ? यो प्रश्न छ । यसबारे सचेतना बढ्दो छ । तर न्युज रुमको प्राथमिकता छैन । राजनीति, अर्थनीति, सामाजिक जन्जालले गन्जागोल भएजस्तो लाग्छ ।’
प्रधान सम्पादक गाउँलेले एआईले सञ्चारकर्मीको पेसामा असर नपार्ने जिकिर गरे । ‘पत्रकारको जागिर खोस्न एआई आउनुपरेको छैन । अरु नै कारण छन् । एआईले हाम्रो प्रतिस्पर्धी क्षमता बढाउँछ । ब्याकग्राउण्ड कन्टेन्टमा सहयोगी हुन्छ। एआईले ह्युमन रिसोर्स क्षमतावान बनाउन मद्दत गर्छ । जागिरको अवस्था कस्तो बनाउँछ भन्न सकिँदैन,’ उनले भने । गाउँलेले जेनेरेटेड कन्टेन्टको बारेमा नेपाली सञ्चार क्षेत्रमा कुनै पनि नीति भएको र ठूलो दुर्घटना हुन सक्नेतर्फ सचेत गराए।
प्रकाशित: १ असार २०८१, शनिबार