नीति तथा कार्यक्रमः बहुप्रकोप पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाइने

  • Technology Khabar | २८ बैशाख २०८३, सोमबार
नीति तथा कार्यक्रमः बहुप्रकोप पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाइने
राष्ट्रपति रामचन्द्र पौडेल सङ्घीय संसद्को बजेट अधिवेशनको पहिलो दिन सोमबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै । तस्बिर : रत्न श्रेष्ठ/रासस

काठमाडौं ।

आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा सरकारले स्वचालित जल तथा मौसम केन्द्रको विस्तार गरी पूर्वानुमान प्रणाली सुदृढ बनाइने तथा बहुप्रकोप पूर्वसूचना प्रणालीलाई थप विश्वसनीय र प्रभावकारी बनाइने जनाएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नागरिक एपमार्फत कृषि, यातायात, पर्यटन तथा उड्डयन क्षेत्रमा पूर्वचेतावनी सेवा विस्तार गरिने बताएका हुन्।

जल तथा मौसमसम्बन्धी तथ्याङ्कलाई डिजिटल प्लेटफर्ममा एकीकृत गर्दै विपद्सम्बन्धी पूर्वसूचना प्रणाली विकास गर्ने घोषणा गरेको छ।

सरकारले विपद्पश्चात् क्षतिपूर्ति, राहत तथा पुनर्निर्माण प्रक्रियामा बिमालगायत जोखिम हस्तान्तरणका उपकरणको प्रयोग विस्तार गर्ने नीति अघि सारेको छ।

यातायात क्षेत्रमा व्यावसायिक प्रयोग विस्तार गर्न ग्रिन हाइड्रोजन पूर्वाधार सुरुआत गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। तराई–मधेसका सिँचाइ सेवा नपुगेका क्षेत्रमा भूमिगत जलस्रोतमार्फत तथा पहाडी र हिमाली क्षेत्रका कृषियोग्य टारमा लिफ्ट प्रविधिमार्फत सिँचाइ सुविधा सुनिश्चित गरिने राष्ट्रपति पौडेलले थपे।

सरकारले ठूला सिँचाइ प्रणालीको आधुनिकीकरण, मर्मतसम्भार तथा पुनर्स्थापना गर्दै उपभोक्ता सहभागितामा आधारित दिगो व्यवस्थापन प्रणाली विकास गर्ने जनाएको छ।-रासस

प्रकाशित: २८ बैशाख २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...