चार्जिङ स्टेशनका लागि विद्युत लाइन दिने भन्दै घुस लिने विद्युत् प्राधिकरणका कर्मचारी विरुद्ध मुद्दा दायर

  • Technology Khabar | २९ बैशाख २०८३, मंगलवार
चार्जिङ स्टेशनका लागि विद्युत लाइन दिने भन्दै घुस लिने विद्युत् प्राधिकरणका कर्मचारी विरुद्ध मुद्दा दायर

काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण सप्तरीको कञ्चनपुर वितरण केन्द्रका प्रमुख महेन्द्रकुमार दासविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

चार्जिङ स्टेशनका लागि ट्रान्सफर्मर राखी लाइन छाडिदिने प्रयोजनार्थ सेवाग्राहीसँग एक लाख ४० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा आयोगको टोलीले केही दिन पहिले पक्राउ गरेको थियो।

आयोगले आरोपी दासविरुद्ध बिगोबमोजिम कारबाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

दासले चार्जिङ्ग स्टेशन संचालनको लागि विद्युत लाइन छाडिदिनका लागि नियमानुसार कार्य सम्पन्न भएपश्चात उक्त कार्य गरेवापत सेवाग्राहीसँग घुस/रिसवत रकमको लागि बार्गेनिङ्ग गरी, नदिएमा लाइन काटिदिने धम्कि दिई एक लाख चालीस हजार रुपैयाँ घुस/रिसवत लिएको स्थापित भएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो एक लाख चालीस हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालतमा आरोपपत्र दायर गरिएको उल्लेख छ।

प्रकाशित: २९ बैशाख २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...