
काठमाडौं ।
बेलायती पप स्टार डुआ लिपाले आफ्नो तस्बिर प्रयोग गरेर टेलिभिजन बिक्री प्रवर्द्धन गरेको आरोप लगाउँदै दक्षिण कोरियाली प्रविधि कम्पनी सामसङ इलेक्ट्रोनिक्सविरुद्ध कम्तीमा १ करोड ५० लाख डलर क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेकी छन्।
मुद्दाअनुसार सामसुङले खुद्रा बिक्रीका लागि राखिएका टेलिभिजनका कार्टुन बक्सको अगाडिको भागमा पप स्टारको कपीराइट सुरक्षित तस्बिर प्रयोग गरेको थियो, जसबाट कम्पनीले उनले उक्त उत्पादनको समर्थन गरेजस्तो देखाएर फाइदा लिन खोजेको आरोप लगाइएको छ।
टिभी बक्समा प्रयोग गरिएको भनिएको तस्बिरको शीर्षक “डुआ लिपा – ब्याकस्टेज एट अस्टिन सिटी लिमिट्स, २०२४” रहेको छ र उक्त तस्बिरमाथिका सबै अधिकार, स्वामित्व र हित दुआ लिपाकै रहेको मुद्दामा उल्लेख गरिएको छ। यो मुद्दा शुक्रबार क्यालिफोर्नियाको संघीय अदालतमा दायर गरिएको हो।
रोयटर्सका अनुसार सामसङ इलेक्ट्रोनिक्सका एक प्रवक्ताले विचाराधीन मुद्दामाथि टिप्पणी गर्न नसकिने भन्दै प्रतिक्रिया दिन अस्वीकार गरे भने दुआ लिपाका वकिलहरूले पनि तत्काल कुनै प्रतिक्रिया दिएका छैनन्।
कपीराइट र ट्रेडमार्क उल्लंघनका साथै दुआ लिपाले सामसुङ इलेक्ट्रोनिक्समाथि प्रचारसम्बन्धी अधिकार उल्लंघन गरेको आरोप पनि लगाएकी छन्।
लिपाका वकिलहरूले मुद्दासँगै सामाजिक सञ्जालका पोस्ट र प्रतिक्रियाका स्क्रिनसट पनि संलग्न गरेका छन्, जसमा बक्सको अगाडिको भागमा रहेको पप स्टारको तस्बिरले सम्भावित ग्राहकलाई उत्पादन किन्न प्रेरित गरेको दाबी गरिएको छ। तीमध्ये एक स्क्रिनसटमा एक प्रशंसकले “डुआ भएकै कारण यो टिभी किन्ने” टिप्पणी गरेको देखिन्छ।
“लेभिटेटिङ” गीतकी गायिका लिपाले गत वर्ष जुन महिनामा सामसङले आफ्नो तस्बिर अनधिकृत रूपमा प्रयोग गरेको थाहा पाएपछि त्यसलाई रोक्न माग गरेकी थिइन्, तर इलेक्ट्रोनिक्स निर्माता कम्पनीले पटक–पटक अस्वीकार गरेको उनका वकिलहरूले बताएका छन्।
सामसङले लिपाको तस्बिर अनधिकृत रूपमा प्रयोग गर्दा पप स्टारको “ब्रान्ड पहिचान र व्यावसायिक प्रतिष्ठामा असर परेको र अझै असर गरिरहेको” उनका वकिलहरूको भनाइ छ। साथै यसले उनले सम्बन्धित उत्पादनलाई समर्थन र अनुमोदन गरेको झुटो सन्देश उपभोक्तामाझ पुगेको पनि उनीहरूको दावी छ।
प्रकाशित: २९ बैशाख २०८३, मंगलवार