Technology Khabar २ जेष्ठ २०८१, बुधबार
काठमाडौं ।
नेपाल राष्ट्र बैंकले इजाजत प्राप्त संस्थामा रहेको बैंक खाता रोक्का तथा फुकुवा अनलाइन प्रणाली मार्फत नै हुने गरी छुट्टै विनियमावली जारी गर्ने भएको छ। यसका लागि राष्ट्र बैंकले ‘बैंक खाता रोक्का तथा फुकुवा सम्बन्धी विनियमावली, २०८१’ मस्यौदा तयार गरी सरोकारवालासँग राय सुझाव माग गरेको छ।
बैंक खाता रोक्का राख्न तथा रोक्का रहेका बैंक खाता फुकुवा गर्ने सम्बन्धी व्यवस्थालाई थप स्पष्ट, पारदर्शी र व्यवस्थित बनाउन वाञ्छनीय भएकाले मस्यौदा तयार गरी कानुन बनाउन राष्ट्र बैंकले सरोकारवालहरुसँग राय सुझाव माग गरेको हो।
बैंक खाता रोक्का तथा फुकुवा गर्न राष्ट्र बैंकले स्वचालित प्रणाली सम्बन्धी व्यवस्था गरेको छ। राष्ट्र बैंकले खाता रोक्का वा फुकुवा सम्बन्धी अनलाइन प्रणाली विकास गरी सो सम्बन्धमा आवश्यक निर्देशन जारी गर्न सक्ने मस्यौदामा बताइएको छ। यस्तै राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त संस्था तथा प्रचलित कानून बमोजिम खाता रोक्का वा फुकुवा गर्न अधिकार प्राप्त अधिकारीले राष्ट्र बैंकले विकास गरेको अनलाइन प्रणाली मार्फत खाता रोक्का वा फुकुवाको निवेदन दिन सक्ने मस्यौदामा लेखिएको छ।
यस्तै तत्कालीन समयमै (रियल टाइम) खाता रोक्का तथा फुकुवा सम्बन्धी कार्य गर्नको लागि इजाजतपत्र प्राप्त संस्थाले उपयुक्त प्रणाली तथा प्रक्रियाको व्यवस्था गर्नुपर्नेछ।
साथै खाता रोक्का तथा फुकुवाका लागि इजाजतपत्र प्राप्त संस्थाले तोकिएका अधिकारी बैंकमा पत्र पठाउदा यथाशीघ्र प्राप्त हुने गरी तोकिएको ठेगानामा पठाउनु पर्नेछ। यस्तो पत्र इमेल मार्फत समेत पठाउन सकिने मस्यौदामा उल्लेख छ।
बैंक खाता रोक्का तथा फुकुवा सम्बन्धी विनियमावली, २०८१’ मस्यौदा
Account-Freezing-and-Unfreezing-For-consultation-1
प्रकाशित: २ जेष्ठ २०८१, बुधबार