Technology Khabar २१ बैशाख २०८१, शुक्रबार

काठमाडौं ।
राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान गर्ने इञ्जिनियरलाई सम्मान गरिएको छ । नयाँ वर्ष २०८१ को अवसरमा आयोजित ‘भेटघाट तथा शुभकामना आदान–प्रदान’ कार्यक्रममा ७८ वर्ष नाघेका ७४ जना इञ्जिनियरलाई दोसल्ला र करदपत्रद्वारा सम्मान गरिएको हो ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति प्रा डा जीवराज पोखरेलले ती सम्मान वितरण गरे। डा पोखरेलले गीत प्रस्तुत गरेर उपस्थित इञ्जिनियरलाई मनोरञ्जनसमेत दिए।
राष्ट्र निर्माणमा इञ्जिनियर पेशाको महत्वपूर्ण योगदान रहेको स्मरण गर्दै यस क्षेत्रमा योगदान गर्ने वरिष्ठ इञ्जिनियरलाई सम्मान गरिएको नेपाल इञ्जिनियरर्स एशोसिएसनका पूर्वअध्यक्ष इञ्जिनियर किशोर शाक्यले बताए। उनका अनुसार सेवा निवृत्त इञ्जिनियरको पहलमा वरिष्ठ इञ्जिनियरलाई सम्मान गरिएको हो ।
“इञ्जिनियरिङ पेशामा वरिष्ठलाई कनिष्टले सम्मान गर्नुपर्छ भन्ने भावना युवा पुस्तामा जगाउने उद्देश्यले मित्रमिलनको कार्यक्रम गरिएको हो।,” उनले उल्लेख गरे, “देश निर्माणमा इञ्जिनियरको योगदान छ। यो पेसामा वरिष्ठलाई कनिष्टले सम्मान गर्नुपर्छ, पेशागत सम्मानको संस्कृतिलाई निरन्तरता दिनुपर्ने भन्ने उद्देश्यले कार्यक्रम गरिएको हो।
सरकारी सेवामा लामो समयसम्म इञ्जिनियर पेशामा आबद्ध सेवा निवृत्तहरुको भेटघाट, मित्रमिलन र सुख दुःखका कुरा आदानप्रदान गर्ने उद्देश्यले सम्मान कार्यक्रम गरिएको शाक्यले बताए।
नेपाल सरकारबाट सेवा निवृत्त इञ्जिनियर एवं ५८औँ वसन्त पार गरेका इञ्जिनियरको सहभागिता नववर्ष–२०८१ को अवसरमा सेवा निवृत्त इञ्जिनियरलाई सम्मान गरिएको हो। कार्यक्रममा विभिन्न साङ्गीतिक प्रस्तुति गरिएको थियो। रासस
प्रकाशित: २१ बैशाख २०८१, शुक्रबार