स्मार्ट टेलिकमसम्बन्धी समाचारमा सीआईबीको ध्यानाकर्षण, अप्रमाणित सामग्री नछाप्न आग्रह

  • Technology Khabar | २१ आश्विन २०८३, बुधबार
स्मार्ट टेलिकमसम्बन्धी समाचारमा सीआईबीको ध्यानाकर्षण, अप्रमाणित सामग्री नछाप्न आग्रह

काठमाडौं ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले स्मार्ट टेलिकमको सम्पत्ति लिलामी तथा एनसेल आजियटाको सेयर खरिद–बिक्रीसँग जोडिएको अनुसन्धानबारे प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सीआईबीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै स्मार्टसेलको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गरी राज्यको हक टुटाएको तथा एनसेल आजियटाको सेयर खरिद–बिक्रीसँग सम्बन्धित कसुरबारे अनुसन्धान गरिएको जनाएको छ।

विज्ञप्तिअनुसार अनुसन्धान पूरा गरी मुद्दा सम्बन्धित जिल्ला अदालतमा विचाराधीन रहेको छ। तर सम्पत्ति शुद्धीकरणलगायत विषयमा अनुसन्धान जारी रहेको भन्दै अप्रमाणित विषयलाई आधार बनाएर भ्रामक तथा तथ्यहीन समाचार प्रकाशन नगर्न सञ्चारमाध्यमलाई आग्रह गरिएको छ।

स्मार्टसेल प्रकरणमा पछिल्लो समय विभिन्न नाम चलेका  सञ्चारमाध्यमले अनुसन्धान, लिलामी प्रक्रिया र मुद्दासम्बन्धी सामग्री प्रकाशित गरेका छन्। समाचारको एङ्गल भने कुनै उस्तै र कुनै फरक छन्। क

कुनै एक सञ्चारमाध्यमले सीआईबीको अनुसन्धान प्रतिवेदनमा २२ जनालाई प्रतिवादी बनाउन र करिब ९६ अर्ब रुपैयाँ बिगो मागदाबी गर्नुपर्ने राय रहेको उल्लेख गरेको थियो भने अर्को एक सञ्चारमाध्यमले एनसेल, स्मार्ट टेलिकम र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकसम्बन्धी अनुसन्धानका विवरण प्रकाशित गरेको थियो।

यस्तै स्मार्टसेल लिलामी र एनसेल सेयर कारोबारसँग जोडिएका आरोपबारे सीआईबी प्रमुखसँग सञ्चारमन्त्रीले स्पष्टीकरण लिएको, स्मार्टसेल लिलामी, एनसेल सेयर कारोबारलगायत विषय जोडेर ठूलो रकमको वित्तीय अपराध भएको दाबी सहितका समाचार पनि सञ्चारमाध्यमहरुले प्रकाशन प्रसारण गरेका थिए।

यस्तै समाचारहरुले विचाराधीन मुद्दालाई प्रभावित पार्न सक्ने आकलन गरी सीआईबीले यस्ता सामग्रीमा अप्रमाणित विषयवस्तु प्रस्तुत नगर्न आग्रह गरेको बुझिएको छ।

प्रकाशित: २१ आश्विन २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार