भारतीय आइटी कम्पनी इन्फोसिसको राजस्व वृद्धि अपेक्षाभन्दा कम

Technology Khabar ७ बैशाख २०८१, शुक्रबार

काठमाडौं ।

भारतको सूचना प्रविधि (आइटी) कम्पनी इन्फोसिसले बिहीबार मार्चमा समाप्त हुने त्रैमासिकका लागि अपेक्षाभन्दा कम राजस्व वृद्धि भएको बताएको छ।

कम्पनीले अमेरिकामा ग्राहक खर्चमा देखिएको सुस्तताले सफ्टवेयर सेवा उद्योगका लागि सुधारको अपेक्षालाई प्रभावित गरेको जनाएको छ।

बेङ्गलुरु प्रधान कार्यालय रहेको कम्पनी गत वर्ष कोभिड–प्रेरित वृद्धिपछि लडखडाएको छ। कम्पनीले आफ्नो आम्दानीको ८० प्रतिशतभन्दा बढी पश्चिमी बजारहरूबाट कमाउँछ।

उच्च ब्याज दरहरू र मुद्रास्फीतिले विश्वव्यापी कम्पनीहरूको प्राविधिक खर्चमा असर पुर्याउँदा थोरै मात्र सम्झौता भएका छन् भने भारतीय सफ्टवेयर आउटसोर्सिङ क्षेत्रको विद्यमान करार पत्रहरू रद्द भएका छन्।

इन्फोसिसले त्रैमासिकका लागि चार अर्ब ५४ करोड अमेरिकी डलर आम्दानी भएको बताएको छ। यो गत आर्थिक वर्षको समान अवधिको तुलनामा एक दशमलव तीन प्रतिशतले बढी हो।

कम्पनीको खुद मुनाफा ३० प्रतिशतले बढेर ९५ करोड ४० लाख डलर पुगेको छ तर अन्य आम्दानीमा भएको वृद्धिले यसलाई सहयोग गरेको छ।

इन्फोसिसका प्रमुख कार्यकारी सलिल पारेखले समष्टिगत परिदृश्यमा ‘मिश्रित दृष्टिकोण’ रहेको बताए। “तपाईंले देखेजस्तै अमेरिकामा हाम्रो दृष्टिकोण सुस्त थियो भन्ने मलाई लागेको छ”, उनले भने।

कम्पनीको सबैभन्दा ठूलो बजार उत्तरी अमेरिकी व्यापारबाट आम्दानीमा दुई दशमलव एक प्रतिशतले कमी आएको छ।

“लागत, दक्षता र ठूला सम्झौताहरूको एकीकृत प्रकृतिसँग राम्रो प्रवृत्ति छ तर डिजिटल कार्यक्रम वा कुनै विवेकपूर्ण काम अझै पनि हामीले देखिरहेका कामहरूमा देखिरहेका छैनौँ।”

इन्फोसिसले आगामी १२ महिनाका लागि सुस्त बिक्री वृद्धिको अनुमान गरेको छ। कम्पनीले स्थिर मुद्राका आधारमा आम्दानी एकदेखि तीन प्रतिशतको बीचमा बढ्ने अनुमान गरेको छ।

बिहीबार मुम्बईमा कारोबारको अन्त्यमा इन्फोसिसको सेयर एक दशमलव शून्य छ प्रतिशतले बढेर बन्द भएको छ। रासस/एएफपी

प्रकाशित: ७ बैशाख २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया