साइबर सुरक्षा सम्बन्धी कमजोर कानुनले सरकारकै सूचनाको गोपनीयता भङ्ग: सञ्चारमन्त्री शर्मा

  • Technology Khabar | ३ असार २०८०, आईतवार
साइबर सुरक्षा सम्बन्धी कमजोर कानुनले सरकारकै सूचनाको गोपनीयता भङ्ग: सञ्चारमन्त्री शर्मा

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साइबर सुरक्षा अहिलेको मुख्य चुनौती भएको बताएकी छन्। दाङको घोराहीमा भएको सञ्चार, साइबर सुरक्षा नीति र कानुन विषयक राष्ट्रिय सम्मेलनलाई उद्घाटन गर्दै मन्त्री शर्माले सूचना तथा प्रविधिको बढ्दो प्रयोगसँगै यसको सुरक्षा अहिलेको मुख्य चुनौतीका रूपमा देखा परेको बताईन।

मन्त्री शर्माले भनिन्,‘‘सूचना प्रविधि नेपालमा सबैभन्दा तीव्र गतिमा विकास भइरहेको छ। तर यसलाई नियमन गर्ने गतिलो कानुन नहुँदा गलत प्रयोग हुने गरेको छ। यसलाई रोक्नुपर्ने चुनौती छ।’’

साइबर सुरक्षा सम्बन्धी कमजोर कानुनका कारण आम नागरिकदेखि सरकारकै सूचनाको गोपनीयता भङ्ग हुँदै गएको भन्दै मन्त्री शर्माले सरकार साइबर सुरक्षा सम्बन्धी कानुन निर्माण लागेको बताएको गोरखापत्रले समाचारमा लेखेको छ।

मन्त्री शर्माले भनिन्,‘‘साइबर सुरक्षा सम्बन्धी कमजोर कानुनका कारण नागरिकदेखि सरकारकै सूचनाको गोपनीयता भङ्ग हुने डर छ। त्यसलाई नियन्त्रणका लागि सरकार साइबर सुरक्षा सम्बन्धी कानुन निर्माणमा लागेको छ।’’ सूचना तथा प्रविधिको दुरुपयोग गर्दै विभिन्न खालका अपराध बढेको  भन्दै मन्त्री शर्माले यसलाई रोक्नका लागि सबैको पहल आवश्यक रहेको बताईन्।

गलत प्रयोगका कारण बालबालिका, किशोर किशोरीदेखि आम नागरिक विभिन्न खालको फन्दामा पर्ने गरेको भन्दै मन्त्री शर्माले कानुन निर्माणसँगै सामाजिक सञ्जालको प्रयोग सम्बन्धी सर्वसाधारण नागरिकलाई चेतना प्रवाह गर्नु आवश्यक रहेको बताईन्।

मन्त्री शर्माले भनिन,‘‘अहिले गाउँगाउँमा इन्टरनेट र हातहातमा मोबाइल पुगेको छ। तर यसको कसरी प्रयोग गर्ने भन्ने कमै मानिसलाई मात्रै थाहा छ। जसले गर्दा धेरै मानिसले अनाहकमा दु:ख पाइरहनुभएको छ। त्यो दु:खबाट मानिसलाई रोक्नका लागि सामाजिक सञ्जालको प्रयोग सम्बन्धी सचेतना आवश्यक छ।’’

मन्त्री शर्माले सामाजिक सञ्जालको गलत प्रयोगको सिकार महिला हुनुपरेको भन्दै  सूचना प्रविधि तथा सामाजिक सञ्जालका बारेमा महिला सचेत हुनुपर्ने बताईन्।

मन्त्री शर्माले नेपालमा सूचना प्रविधिको प्रयोगलाई बढाउँदै आयआर्जनका माध्यमबाट समृद्ध राष्ट्र निर्माण गर्न सकिने बताईन्। त्यसका लागि सूचना र प्रविधिसँगै सामाजिक सञ्जालको सही प्रयोग सम्बन्धी आम नागरिकलाई ज्ञान हुनुपर्ने बताईन्।

प्रकाशित: ३ असार २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...