काठमाडौं ।
नर्वेको डाटा संरक्षण प्राधिकरण (एनडीपीए) ले माइक्रोसफ्टको विज्ञापन प्रविधिसम्बन्धी सहायक कम्पनी एक्सान्ड्रलाई ९ करोड २० लाख नर्वेजियन क्रोनर अर्थात् करिब ९६ लाख अमेरिकी डलर जरिवाना गरेको छ।
प्राधिकरणका अनुसार एक्सान्ड्रले ग्रिन्डरका प्रयोगकर्ताको संवेदनशील डेटा विज्ञापनका लागि प्रयोग गर्नुअघि उनीहरूको ‘स्पष्ट सहमति’ लिएको थिएन। बरु डेटिङ एपले प्रयोगकर्ताको अनुमति पहिल्यै लिएको छ भन्ने अनुमान गरेको थियो। यो नर्वेको उक्त प्राधिकरणले हालसम्म लगाएको सबैभन्दा ठूलो जरिवाना पनि हो।
“कुनै व्यक्तिले ग्रिन्डर खोल्दा धेरै अवस्थामा उसको व्यक्तिगत डाटा एक्सान्ड्रमार्फत विज्ञापन प्रणालीमा संलग्न हजारौँ पक्षसम्म पुग्न सक्थ्यो,” एनडीपीएले प्रेस विज्ञप्तिमा भनेको छ। “यसरी विज्ञापनदाताहरूले एकअर्कासँग प्रतिस्पर्धा गर्दै लक्षित विज्ञापन देखाउन बोलकबोल गर्न सक्थे। यो प्रक्रिया सम्बन्धित प्रयोगकर्तालाई पूर्ण रूपमा थाहा नहुने गरी हुन्थ्यो।”
इन्ग्याजेटका अनुसार यो मुद्दा सन् २०२० मा सुरु भएको थियो। त्यसबेला नर्वेको उपभोक्ता परिषद्ले माइक्रोसफ्टको स्वामित्वमा नरहेको एक्सान्ड्रविरुद्ध एनडीपीएमा उजुरी दिएको थियो।
उजुरीमा प्रयोगकर्ताको सहमति नलिई व्यावसायिक प्रयोजनका लागि उनीहरूको व्यक्तिगत डाटा गैरकानुनी रूपमा साझा गरेको आरोप लगाइएको थियो।
डाटा संरक्षण प्राधिकरणले यस घटनामा लगाइएको जरिवाना उच्च हुनुको कारण डाटा दुरुपयोगलाई “अत्यन्त गम्भीर” मानिएको बताएको छ। एनडीपीएका अनुसार एक्सान्ड्रको कुल वार्षिक कारोबारका आधारमा जरिवाना गणना गरिएको हो। डेटा संरक्षणसम्बन्धी उल्लङ्घन सन् २०१८ को जुलाईदेखि सन् २०२० को अप्रिलसम्म भएको थियो।
यस मुद्दामा एक्सान्ड्रलाई दोषी ठहर गरिएको भए पनि संवेदनशील प्रयोगकर्ता डाटा अनुचित रूपमा साझा गरेको विषयमा ग्रिन्डर आफैँ पनि विवादमा परेको छ।
यसअघि नर्वेको यही प्राधिकरणले समान कारण देखाउँदै डेटिङ एप ग्रिन्डरलाई ५६ लाख यूरोभन्दा बढी अर्थात् करिब ६२ लाख अमेरिकी डलर जरिवाना गरेको थियो।
सन् २०२४ मा ग्रिन्डरविरुद्ध लन्डनमा मुद्दासमेत दायर गरिएको थियो। उक्त मुद्दामा एपले प्रयोगकर्ताको एचआईभी अवस्थासम्बन्धी जानकारी र परीक्षणको मितिसहितको डाटा साझा गरेको आरोप लगाइएको थियो।
प्रकाशित: २८ आश्विन २०८३, बुधबार