काठमाडौं ।
नियमित रिमाइन्डर सेट गर्न, फरक समय क्षेत्र व्यवस्थापन गर्न र कार्यालय समयबाहिर व्यावसायिक सन्देश पठाउन ह्वाट्सएप प्रयोगकर्ताहरूले लामो समयदेखि सन्देश पठाउने समय निर्धारण गर्न मिल्ने सुविधा माग गर्दै आएका छन्।
सन् २०१९ देखि प्रतिस्पर्धी मेसेजिङ एप टेलिग्राममा यो सुविधा उपलब्ध भए पनि ह्वाट्सएपमा भने थिएन। अब मेटाको मेसेजिङ एपमा पनि यो सुविधा चाँडै उपलब्ध हुने देखिएको छ। ह्वाट्सएपको एन्ड्रोइड बिटा संस्करणमा यो सुविधा देखिएको वाबेटाइन्फोले जनाएको छ।
इन्ग्याजेटका अनुसार यो सुविधा एन्ड्रोइडका लागि उपलब्ध ह्वाट्सएपको बिटा अपडेट २.२६.८.११ मा देखिएको हो। यो टेलिग्राममा जस्तै काम गर्छ। प्रयोगकर्ताले सन्देश पठाउने बटन थिचेर केही समय होल्ड गरेपछि यो सुविधा प्रयोग गर्न सक्छन्।
त्यसपछि स्क्रिनको तल्लो भागमा एउटा संवाद बाकस खुल्छ, जहाँ सन्देश पठाउने मिति र समय छनोट गर्न सकिन्छ। यसमा सन्देश पठाउनुअघि निर्धारित सन्देशहरू व्यवस्थापन गर्न छुट्टै खण्ड पनि उपलब्ध छ।
प्रयोगकर्ताको उपकरण अफलाइन भए पनि निर्धारित समयमा सन्देश पठाइनेछ। अन्य सन्देशजस्तै यसबाट पठाइने सन्देशमा टेक्स्ट, लिंक, फोटो र भिडियो समावेश गर्न सकिन्छ। यी सन्देश पनि सुरुदेखि अन्त्यसम्म इन्क्रिप्सनद्वारा सुरक्षित हुनेछन्।
प्रयोगकर्ताले हालको समयदेखि कम्तीमा १० मिनेटपछि वा बढीमा दुई साताअघि नै सन्देश पठाउने समय निर्धारण गर्न सक्नेछन्। यो सुविधा समूह च्याटमा पनि प्रयोग गर्न सकिनेछ।
यो सुविधा अहिले एन्ड्रोइडमा ह्वाट्सएपका केही बिटा परीक्षकका लागि उपलब्ध छ। आगामी केही सातामा थप खातामा विस्तार गरिने अपेक्षा गरिएको छ। औपचारिक बिटा संस्करण उपलब्ध भइसकेकाले निकट भविष्यमै यो सुविधा सबै प्रयोगकर्ताका लागि सार्वजनिक हुन सक्नेछ।
प्रकाशित: २७ आश्विन २०८३, मंगलवार