मुख्य सडकमा फ्री वाइफाई

  • Technology Khabar | १२ बैशाख २०८०, मंगलवार
मुख्य सडकमा फ्री वाइफाई

काठमाडौं ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सूचना राजमार्गको अबधारणा अघि सारेको छ। नगरपालिकाले नगर क्षेत्रमा पर्ने सिद्धार्थ राजमार्गको योगोकुटीदेखि कटैयासम्म फ्री वाइफाई जडान गरेको छ।

आमनागरिकलाई प्रविधिमैत्री बनाउन र सहजताका लागि बुटबल बेलहिया छ लेन व्यापारिक मार्गको तिलोत्तमा क्षेत्रमा फ्री वाइफाई जडान गरिएको हो।

लुम्बिनी प्रदेश सरकार र तिलोत्तमा नगरपालिकाको संयुक्त लगानीमा सूचना राजमार्गमार्फत डिजिटल सेवा प्रवाह कार्यक्रम अन्तरगत फ्री वाइफाई सेवाको सोमबारबाट सुरु गरिएको हो ।

तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण वाणले देशकै नमुना नगरपालिका तिलोत्तमामा स्वदेश तथा विदेशबाट आएकाहरूको र स्थानीयलाई पनि सहज इन्टरनेट प्राप्तिका लागि यो कार्यक्रम शुभारम्भ गरिएको बताए।

उनले भने, “नगरलाई प्रविधिमैत्री बनाउन, नगरका १७ वटै वडामा पनि यसलाई विस्तार गरिनेछ। हाइवे क्षेत्रमा हिँड्ने आन्तरिक तथा बाह्य पर्यटकलाई समेत यसले राहत दिनेछ। यसले राम्रो प्रभाव पार्नेछ।”

नगरपालिका भित्रका व्यवसायहरू के-के छन् ? त्यसको सम्पूर्ण विवरण र तिलोत्तमाको सबै विवरण जेठ मसान्तभित्रमा वाइफाई खोलेपछि हेर्न सहज हुने पनि उनले बताए।

योगीकुटीदेखि कोटीहुबासम्मको १३ किलोमिटर सडकमा ३८ वटा डिभाइस जडान गरिएको नगरपालिका सूचना प्रविधि उपशाखा प्रमुख सुदीप ढकालले जानकारी दिए। करिब ८५ लाख खर्चमा वाइफाई जडान गरिएको हो। एक ठाउँमा लग इन गरेपछि १३ किलोमिटर भित्रको दूरीमा राखिएका विभिन्न डिभाइसबाट सहजै काम गर्ने उनको भनाइ छ।

एउटा डिभाइसले एक पटकमा २५६ वटासम्म कनेक्ट गर्न सक्ने क्षमता रहे पनि अहिले तत्कालका लागि १०० वटा डिभाइस कनेक्ट हुने र टिकटक ब्यान्ड गरिएका केही वेब पोर्टल भने चलाउन नमिल्ने बनाइएको उनले जानकारी दिए। गोरखापत्रबाट

प्रकाशित: १२ बैशाख २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार