सूचना प्रविधिको प्रयोग सामाजिक रुपान्तरणका लागि: मन्त्री शर्मा

  • Technology Khabar | २४ फाल्गुन २०७९, बुधबार
सूचना प्रविधिको प्रयोग सामाजिक रुपान्तरणका लागि: मन्त्री शर्मा

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको सदुपयोगबाट राजनीतिक, सामाजिक र सांस्कृतिक रूपान्तरण गर्ने समय आएको बताएकी छन्।

११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सूचना प्रविधिमा महिला (डब्ल्यूआइआइटी)ले गरेको सूचना प्रविधि महिला सम्मेलनलाई सम्बोधन गर्दै उनले विज्ञानमा आएको परिवर्तनले समाज रूपान्तरणमा योगदान गर्नुपर्ने बताएकी हुन्।

समयको गतिसँगै विज्ञान प्रविधिमा आएको परिवर्तनलाई नेपालमा सबैखाले विभेद अन्त्यमा प्रयोग गर्नुपर्ने उल्लेख गर्दै मन्त्रीले पछिल्लो समयमा यो क्षेत्रमा महिलाको उत्साहजनक सहभागिता बढेकोमा खुशी व्यक्त गरिन्।

सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा भएका नीतिगत व्यवस्थाहरुले सूचना सन्चारको क्षेत्रमा भइरहेको तीब्र विकासको उपयोग गरी डिजिटल नेपाल फ्रेमवर्क २०७६ ले परिकल्पना गरेको राष्ट्रिय लक्ष्य हासिल गर्न महिलाहरूले सक्रिय भूमिका खेल्नसक्ने कुरामा आधारहरु बढ्दै गएको उनले बताईन् ।

आफूले मन्त्रालय सम्हालेपछि राजनीतिक र कानुनी साक्षरताका लागि प्रविधिको प्रयोगलाई प्राथमिकता दिने नीति लिएको उल्लेख गर्दै उनले आगामी बजेटमार्फत यसलाई क्रमिकरुप दिने बताइन्। प्रविधिको प्रयोगले महिलाको जीवन सहज बन्दै गएको उल्लेख गर्दै उनले प्रविधिकै दुरुपयोगबाट महिलाले आफ्नो जीवन गुमाउने अवस्था पनि कायमै रहेकाले प्रविधिको सदुपयोग र साइबर नैतिकतामा जोड दिनुपर्ने बताईन्।

सो क्रममा मन्त्री शर्माले सूचना प्रविधिको क्षेत्रमा योगदान गरेका १०१ जना महिलाको सफलताको कथा समेटिएको पुस्तक विमोचन गरेकी थिईन्। कार्यक्रममा सूचना प्रविधिमा योगदान गर्ने १०१ महिलालाई सम्मान पनि गरिएको थियो।

प्रकाशित: २४ फाल्गुन २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...