
काठमाडौं ।
बीवाईडीले नयाँ एन७ मोडल लन्च गर्ने तयारी गरिरहेको छ। आधिकारिक रुपमा घोषणा हुनुअघि कम्पनीले आगामी एन७ एसयूभी मोडलको नयाँ टिजर भिडियो साझा गरेको छ।
उक्त नयाँ टिजरमा बीवाईडीको नयाँ एन७ एसयूभी मोडल हिउँमा चलिरहेको देखाइएको छ। चिनियाँ अटोमोबाइल निर्माताको एसयूभी सिरिज अन्तर्गतको एन सिरिजमा एन७ नयाँ थप हुनेछ। यो मोडल पाँच सिट भएको मध्यम आकारको एसयूभी हुनेछ।
कम्पनीले विगतमा यस गाडीको कन्सेप्टलाई टिज गरिसकेको र ट्रेलरको आधारमा यस गाडीको मास प्रोडक्सन संस्करणमा क्यामफ्लाज पनि समावेश गरिएको देखा परेको बताइएको छ।
यस मोडलको अगाडिको भागमा दुबै हेडलाइटहरूको मुनि पखेटा आकारको ग्रिलको साथ सार्प हेडलाइटहरू रहेका छन्। अफवाहहरूका अनुसार बीवाईडी एन७ ले ब्रान्डको स्वामित्वको डीएम–आई हाइब्रिड इन्जिन फिचर गर्ने र उक्त इन्जिन नियमित इन्धन र शुद्ध बिजुलीमा पनि चल्न सक्ने उल्लेख गरिएको छ। एन७ मोडलको मूल्य दायरा २००,००० देखि ३००,००० युआन (लगभग २९,००० देखि ४३,००० यूएस डलर) हुने अपेक्षा गरिएको छ।
कम्पनीले हालसम्म यस गाडीको लन्च मितिको बारे आधिकारिक खुलासा भने नगरेको गीज्मोचाइनाले रिपोर्ट गरेको छ। यद्यपि, एक अधिकारीले यसअघि एन७ एसयूभी यस वर्षको पहिलो भागमा रिलिज हुने बताएका थिए। एन७ एसयूभी मोडल चीनमा वसन्त ऋतुमा लन्च गरिने अपेक्षा गरिएको छ।
प्रकाशित: ९ फाल्गुन २०७९, मंगलवार