
काठमाडौं ।
यूरोपियन यूनियनले क्रिप्टोकरेन्सी ट्रान्सफरको नयाँ नियम मान्न सहमत भएको छ।
उक्त नयाँ नियम परम्परागत बैंकिङ ट्रान्सफरका लागि बनाइएको सम्पत्ति शुद्धीकरणको नियमजस्तै रहेको छ।
ईयूका अधिकारीहरुले बुधबार २७ राष्ट्रको समूहका लागि बिटक्वाइनजस्ता क्रिप्टोकरेन्सी सम्पत्ति ट्रान्सफर ट्रेस गर्ने अस्थायी सम्झौतामा हस्ताक्षर गरेका छन्। यसको मुख्य उद्देश्य अवैध ट्रान्सफरमा अंकुश लगाउनुका साथै शंकास्पद ट्रान्सफर ब्लक गर्नु रहेको एनवाइ१ डटकमले उल्लेख गरेको छ।
नयाँ नियमअनुसार अबदेखि कुनै क्रिप्टो सम्पत्तिको स्वामित्व परिवर्तन भएपछि उक्त ट्रान्सफरको जानकारी दिने र पाउने दुवैकोमा स्टोर हुनुपर्नेछ।
क्रिप्टो कम्पनीहरले यस्ता जानकारी आवश्यक परेको बेला सम्पत्ति शुद्धीकरण तथा आतंकवादीलाई आर्थिक सहयोगजस्ता आपराधिक क्रियाकलापको छानबिनका लागि उपलब्ध गराउनु पर्नेछ।
‘लामो समयदेखि क्रिप्टो सम्पत्ति कानून नियमन गर्ने अधिकारीहरुको नजरमा थियो’, ईयूका मुख्य कानून निर्मातामध्येका एक अस्सिता कान्कोले विज्ञप्तिमा उल्लेख गरेका छन्, ‘अब क्रिप्टो सम्पत्ति दुरुपयोग गर्न निकै कठिन हुनेछ भने यसबाट सोझा कारोबारी तथा लगानीकर्ताहरुको अझ सुरक्षा हुनेछ।’
प्रकाशित: १७ असार २०७९, शुक्रबार