
काठमाडौं ।
टेक्सासको एक प्राथमिक विद्यालयमा निर्दोष बालबालिकामाथि अन्धाधुन्ध गोली प्रहारको घटनाले विश्वलाई नै स्तब्ध बनाएको छ।
एक १८ वर्षीय आक्रमणकारी युवकले विद्यालयमा प्रवेश गरी अन्धाधुन्ध गोली प्रहार गरी १९ बालबालिकासहित २१ जनाको हत्या गरेको थियो।
आक्रमणकारीका एक पुरानो सहपाठीले ती आक्रमणकारीले ‘कल अफ ड्यूटी’ सुटिङ र कम्ब्याट गेम मन पराउने र खेल्ने गरेको बताए।
टेक्सासमा २१ जनाको हत्या गर्ने आक्रमणकारीको नाम साल्भाडोर रामोस थिए जो कथित रूपमा अनलाइन शूटिङ्ग र कम्ब्याट गेम खेल्ने गर्थे।
टेक्सासका गभर्नर ग्रेग एबोटले उनी १८ वर्षीय एक स्थानीय र एक अमेरिकी नागरिक भएको र उनलाई प्रहरीले गोली हानी हत्या गरेको जानकारी दिएका थिए।
समाचारमा अमेरिकी मिडियालाई उद्धृत गर्दै नरसंहारको केही घण्टा अघि, बन्दुकधारीले एक अपरिचित व्यक्तिलाई सन्देश पठाएको बताईएको छ, जसमा लेखिएको थियो: “म गर्न लागेको छु…”
आक्रमणको केही दिन अघि, रामोसले इन्स्टाग्राममा पोस्ट गरेका तस्बिरहरूमा उच्च क्षमताको म्यागाजिन भएको ड्यानियल डिफेन्स एआर-१५ देखिन्थ्यो। २८ अप्रिलको अर्को तस्बिरले कसैले म्यागाजिन समातेको देखाएको छ।
उनका एक पूर्व सहपाठी, जसले पहिचान नखुलाउन आग्रह गर्दै सीएनएनलाई दिएको जानकारीअनुसार उनी र रामोस केही हदसम्म “नजीक” थिए र सँगसँगै एक्सबक्स खेल्ने गर्थे। उनकाअनुसार रामोसलाई शूटिंग र कम्ब्याट गेम ‘कल अफ ड्युटी’ मन पर्थ्यो।
प्रकाशित: ११ जेष्ठ २०७९, बुधबार