
काठमाडौं ।
मंगल ग्रहमा जीवनको खोजीमा निस्किएको नासाको पर्सिभेरन्स रोभर एउटा महत्त्वपूर्ण बिन्दुमा पुगेको छ। छ पाङ्ग्रे यो रोबोट जुन खाडलमा अवतरण भएको थियो, मंगलबारदेखि त्यसको माथिको डेल्टातर्फ आरोहण सुरु हुनेछ। डेल्टा नदीको मुहान हो।
अहिलेसम्मको पर्सिभेरन्स को खोजबाट यो स्पष्ट भएको छ कि कुनै समय त्यहाँ मंगल ग्रहमा नदी थियो। जतिबेला त्यहाँ नदी भएको हुनुपर्छ, त्यसबेला त्यहाँ जीवन पनि हुनुपर्ने धेरै सम्भावना छ। यदि यस्तो भएको रहेछ भने, त्यसको प्रमाण अहिलेसम्म सोही स्थानमा गाडिएको हुनुपर्नेछ। अब नासाको यो रोबोटले त्यही सम्भावित जीवनको प्रमाण खोज्न थालेको छ।
गत वर्ष फेब्रुअरी १८ मा नासाले मंगल ग्रहको जेजेरो क्रेटरमा पर्सिभेरन्स रोभरलाई अवतरण गराएको थियो। उल्का पिण्ड खस्दा, ज्वालामुखी विष्फोट हुँदा वा कुनै ठाउँमा विष्फोट भएर निर्माण हुने खाल्डो वा गहिराईलाई क्रेटर भनिन्छ। मंगल ग्रहको यो जेजेरो क्रेटर करिब ४५ किलोमिटर चौडा छ।
वैज्ञानिकहरूको अनुमान छ कि अर्बौं वर्ष पहिले यो खाडल पानीले भरिएको थियो, जुन नदीको रूपमा बगेको हुनुपर्दछ। धेरै चीजहरू नदीसँगै बग्छन्। वैज्ञानिकहरूले यसअघि स्याटेलाइट तस्बिरहरू अध्ययन गरेर यस ठाउँमा डेल्टा नदिको अनुमान गरेका थिए। अहिले सम्मको पर्सिभेरन्सको सहयोगमा गरिएको मूल्याङ्कनबाट यो कुरा पुष्टि भएको छ। यो मंगल ग्रहमा एक मात्र ठाउँ हो जहाँ पुरानो जीवनको निशान अझै फेला पार्न सकिने अपेक्षाअनुसार नासाले यो ठाउँमा रोभर अवतरण गर्ने निर्णय गरेको थियो।
रोभरले आफ्नो मुख्य काम सुरु गर्ने
पर्सिभेरन्सले गत वर्ष मंगल ग्रहमा अवतरण गरेदेखि नै आफ्नो टूल्स र डिभाइसको परीक्षण गरिरहेको छ। उसले आफ्नो वरपरको परिवेश अध्ययन गरिरहेको थियो। सो रोभरसँगै पठाइएको सानो हेलिकप्टरलाई परीक्षण उडानका लागि समेत प्रयोग गरेर हेरिएको थियो । मंगल ग्रहको सतहमा साना तर महत्वपूर्ण परीक्षणहरू भइरहेका थिए। त्यहाँबाट केही चट्टानमा प्वाल गरेर खनिजको नमूना संकलन गरिएको छ। हालसम्म चारवटा नमुना संकलन भइसकेको छ। तर मुख्य काम जसका लागि पर्सिभेरन्सलाई पठाइएको थियो, त्यो अब मात्रै सुरु हुनेछ। यसको कार्य सम्भावित जीवनको अंश पत्ता लगाउनु हो।

सुख्खा खोलाको मुहानमा खोजीगर्ने
पर्सिभेरन्स रोभर अब क्रेटरको पश्चिमबाट माथि चढ्नेछ। यस अवधिमा, चट्टानहरूको परीक्षण गरिनेछ। त्यहाँ सम्भाबित सुख्खा नदीको मुहानमा जम्मा भएको वस्तु वा अन्य चीजहरू खोज्नेछ। खनिज र पोषक तत्वहरू ट्रेस गर्नेछ। माटो र चट्टानमा यस्ता चीजहरू खोजि गर्नेछ, जसमा जीवनको प्रमाण हुन सक्छ। उनीहरुको नमुना संकलन गरिने छ। र तिनीहरूलाई फिर्ता ल्याएर, तिनीहरूले यी नमूनाहरू डिपोमा सुरक्षित ठाउँमा राख्नेछन्, जहाँबाट तिनीहरूलाई पृथ्वीमा ल्याउन सकियोस्। यो काम यसै वर्षको अन्त्यसम्ममा सम्पन्न हुने अपेक्षा गरिएको छ।
“जेजेरो क्रेटरको डेल्टा पर्सिभेरन्सको मुख्य एस्ट्रोबायोलोजी लक्ष्य हो,” डेपुटी परियोजना वैज्ञानिक डा केटी स्ट्याक मोर्गनले भने।
पर्सिभेरन्सले वर्षको अन्त्यमा क्रेटरको सतहमा फर्केर आफ्नो पहिलो चट्टानी नमुना तल राख्ने अपेक्षा गरिएको छ।
यो डिपोले हक्सबिल अवतरणको क्रममा भेला भएका चट्टानहरू मात्र नभई अघिल्लो महिनाहरूमा क्रेटरको सतहमा जम्मा गरिएका चार ओटा नमूनाहरू समावेश गर्नेछ।
ती नमूनाहरु आगामी नयाँ मिसनमार्फत पृथ्वीमा फिर्ता ल्याउने योजना छ। संकलित सामग्रीलाई विस्तृत निरीक्षणको लागि २०३० को दशकमा पृथ्वीमा फिर्ता ल्याउने लक्ष्य राखिएको छ।
प्रकाशित: ४ जेष्ठ २०७९, बुधबार