काठमाडौं ।
बिलबिजकबिना मोबाइल बिक्री तथा ओसारपसार गरेको आरोपमा चितवन प्रहरीले दुई जनालाई पक्राऊ गरेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–१० का ४२ वर्षीय दिपक प्रसाईले वडा नम्बर २ र १० मा सञ्चालन गरेको दिपक मोबाइल पसलमा बिलबिजकबिना मोबाइल बिक्री भइरहेको सूचनाका आधारमा प्रहरीले पसलमा छापा मारेको थियो।
असोज १७ गते प्रहरीले पसलमा खानतलासी गर्दा विभिन्न कम्पनीका बिलबिजकबिना मोबाइल तथा आइप्याड बरामद गरेको हो। बरामद सामग्रीमा एप्पल कम्पनीका आईफोन ५० थान, सामसुङका मोबाइल ८ थान, रेडमीका मोबाइल २ थान, एप्पलका आइप्याड २ थान र भिभोका मोबाइल ९ थान रहेका छन्। प्रहरीले पसल सञ्चालक प्रसाईलाई पक्राउ गरी मोबाइलसहित आवश्यक कारबाहीका लागि भन्सार कार्यालय वीरगञ्ज पठाएको जनाएको छ।
यसैगरी, असोज १८ गते साँझ रामनगर क्षेत्रमा बिलबिजकबिना मोबाइल फोन ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो। रामनगरबाट जुगेडी तर्फ जाँदै गरेका तनहुँको व्यास नगरपालिका–२ का २८ वर्षीय उमनन्द भुजेललाई खानतलासी गर्दा उनले बोकेको झोलाबाट बिलबिजकबिना पाँच थान आईफोन बरामद भएको प्रहरीले जनाएको छ।
भुजेललाई पक्राउ गरी बरामद मोबाइलसहित आवश्यक कारबाहीका लागि भन्सार कार्यालय वीरगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
प्रकाशित: १९ आश्विन २०८३, सोमबार