मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व, १०६ ओटा इभीको भन्सार जाँचपास

  • Technology Khabar | २८ भाद्र २०८३, आईतवार
मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व, १०६ ओटा इभीको भन्सार जाँचपास

काठमाडौं ।

नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै रु एक अर्ब ७८ करोड ४४ लाख राजस्व सङ्कलन भएको छ ।

रसुवाको भोटेकोशीमा गएको बाढीका कारण (रसुवागढी–केरुङ)नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट मालवस्तुको पैठारी ह्वात्तै बढेको छ ।

भन्सार प्रमुख बिदुर चुडालका अनुसार रसुवागढी–केरुङनाका र तातोपानीनाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको कोरलानाकाबाट चिनियाँ मालवस्तु पैठारीको क्रम बढ्दो रहेको उल्लेख गरे। शुक्रबारमात्रै मुस्ताङ भन्सार कार्यालयले एकैदिन रु २७ करोड ११ लाख राजस्व सङ्कलन गरेको छ। भदौ २२ पछि मुस्ताङ भन्सारबाट दैनिक औसत रु ३० करोड हाराहारीमा राजस्व सङ्कलन हुने गरेको प्रमुख चुडालको भनाइ छ।

प्रमुख चुडालका अनुसार शुक्रबारमात्रै ७१ कन्टेनर र १०६ विद्युतीय सवारीसाधन (इभी) को भन्सार जाँचपास भई गन्तव्यतर्फ प्रस्थान गरेका छन्। रसुवागढीनाका बन्द भएको भदौ १० गतेपछि भदौ २५ गते शुक्रबारसम्म कोरलानाकाबाट नेपाल भित्रिएका ४३४ वटा कन्टेनर र ६४१ वटा विद्युतीय सवारीसाधनको भन्सार कार्यालयमा जाँचपास गराइएको उनले बताए।

चालु आव २०८३/८४ को साउनदेखि भदौ २५ गतेसम्म कोरलानाका हुँदै नेपाल भित्रिएका कन्टेनर र विद्युतीय सवारीसाधनको भन्सार जाँचपास गरिँदा रु दुई अर्ब ३१ करोड ४४ लाख राजस्व सङ्कलन भएको भन्सार प्रमुख चुडालले बताए। भदौ ९ गतेसम्म १३३ कन्टेनर र १६३ वटा विद्युतीय सवारी नेपाल भित्रिएका थिए।

विसं २०८२ भदौअघि उपल्लो मुस्ताङका नागरिकका लागिमात्रै बाह्रै महिना खुला गरिएको कोरलानाका गत वर्ष तातोपानी र रसुवागढीनाका बाढीपहिरो तथा नदी कटानले सडक अवरुद्ध भएपछि नेपाल सरकारले गत वर्षको भदौ ३१ गतेदेखि कोरलानाकालाई वैकल्पिक रूपमा निकासी तथा पैठारी नाकाका रूपमा खुला गरेको थियो । भन्सार प्रमुख चुडालका अनुसार गत आव २०८२/८३ मा उत्तरी कोरलानाकाबाट भएको निकासी तथा पैठारीबाट मुस्ताङ भन्सारले रु छ अर्ब ९२ करोडको राजस्व सङ्कलन गरेको थियो ।

त्यस वर्ष पैठारीतर्फ रु १४ अर्ब ४१ करोड र निकासीतर्फ रु २० करोड ५० लाखबराबरको मालवस्तुको कारोबार भएको थियो । गत वर्ष कोरलानाका हुँदै तीन हजार २२३ वटा विद्युतीय सवारी र एक हजार ८७३ वटा कन्टेनरको जाँचपास गरिएको थियो । रासस

प्रकाशित: २८ भाद्र २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार