काठमाडौं ।
डोयच टेलिकम, ओरेन्ज, टेलिफोनिका र भोडाफोनले २ गिगाहर्ज मोबाइल स्याटेलाइट सेवा (एमएसएस) स्पेक्ट्रममा चासो देखाएका छन्।
ब्लुमबर्गले उद्धृत गरेका नाम नखुलाइएका स्रोतका अनुसार यी कम्पनीहरूले यूरोपेली संघले स्थानीय अपरेटरका लागि छुट्याउन लागेको स्पेक्ट्रमको केही हिस्सा लिन संयुक्त समूह बनाउने विषयमा प्रारम्भिक छलफल गरिरहेका छन्।
त्यसपछि उनीहरूले उक्त फ्रिक्वेन्सी प्रयोग गरी युरोपभर स्याटेलाइट डाइरेक्ट-टु-डिभाइस (डी२डी) सेवा उपलब्ध गराउने योजना बनाउन सक्छन्।
रिपोर्टमा यसबारे अहिलेसम्म कुनै अन्तिम निर्णय नभएको उल्लेख गरिएको छ।
एमएसएस ब्यान्ड अर्को वर्ष पुनः वितरण गरिने तयारी भइरहेका बेला यूरोपेली संघले आफ्नो सार्वभौम स्याटेलाइट क्षमता बलियो बनाउन चाहेको छ।
यसै उद्देश्यले यूरोपेली संघकी प्रविधि सार्वभौमसत्ता, सुरक्षा तथा लोकतन्त्रसम्बन्धी कार्यकारी उपाध्यक्ष हेन्ना भिर्कुनेनले मे महिनामा उक्त स्पेक्ट्रमलाई तीन भागमा विभाजन गर्ने प्रस्ताव गरेकी थिइन्।
टेलिकम्स डटकमका अनुसार पहिलो एक तिहाइ स्पेक्ट्रम एउटै यूरोपेली अपरेटरलाई दिइने प्रस्ताव छ। उक्त अपरेटरले सरकार, सुरक्षा निकाय र सेनाका लागि महत्वपूर्ण सञ्चार सेवा उपलब्ध गराउनेछ। यसलाई सरकारी निकायका लागि यूरोपेली संघले योजना बनाएको बहु-कक्षीय स्याटेलाइट समूह आईआरआईएस२ सँग पनि एकीकृत गरिनेछ।
अर्को एक तिहाइ स्पेक्ट्रम यूरोपेली संघमा आधारित कम्पनीहरूको व्यावसायिक प्रयोगका लागि छुट्याइनेछ भने बाँकी एक तिहाइमा यूरोपेली संघभित्र र बाहिरका दुवै कम्पनीले बोली लगाउन सक्नेछन्।
प्रकाशित: २४ भाद्र २०८३, बुधबार