काठमाडौं ।
न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले सोमबार आफ्नो पार्टीले संसदमा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाउने विधेयक ल्याउने बताएका छन्।
नियम पालना नगर्ने सामाजिक सञ्जाल प्लेटफर्मलाई विश्वव्यापी आम्दानीको १० प्रतिशतसम्म जरिवाना गर्ने प्रस्ताव गरिएको छ।
विधेयकअनुसार सामाजिक सञ्जाल प्लेटफर्मले प्रयोगकर्ताको उमेर पहिचान गर्न उचित कदम चाल्नुपर्नेछ। यसका लागि विद्यमान अकाउन्टसम्बन्धी जानकारी, अनुहार पहिचान प्रविधि र डिजिटल परिचयपत्र प्रयोग गर्न सकिनेछ। “न्युजिल्यान्डका बालबालिकाको एउटा पुस्तामाथि भइरहेको क्षतिलाई हामी स्वीकार गर्न सक्दैनौं,” लक्सनले विज्ञप्तिमा भने।
“सामाजिक सञ्जालले उनीहरूलाई हानिकारक सामग्री, लत लाग्ने प्रविधि र सामना गर्न तयार नभएका दबाबमा पारिरहेको छ। यसले उनीहरूको पारिवारिक जीवन, मानसिक स्वास्थ्य, निद्रा र शिक्षामा असर गरिरहेको छ।”
रोयटर्सका अनुसार यो विधेयक संसदबाट पारित हुन पर्याप्त समर्थन पाउने वा नपाउने स्पष्ट भइसकेको छैन। लक्सनको गठबन्धनमा रहेको न्युजिल्यान्ड फर्स्ट पार्टीले भने विधेयकलाई समर्थन नगर्ने जनाएको छ।
न्युजिल्यान्ड फर्स्टका नेता तथा देशका विदेशमन्त्री विन्स्टन पिटर्सले एक्समा लेखेका छन्, “हामी प्रस्तावित कानुन र यसको दिशाबारे चिन्तित छौं। यस्ता कानुनले अन्ततः हाम्रो देशलाई कुन दिशातर्फ र जोखिमपूर्ण बाटोमा लैजान्छ भन्ने विषयमा हामी चिन्तित छौं।”
गत डिसेम्बरमा अस्ट्रेलिया १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने विश्वकै पहिलो देश बनेको थियो। सअन्तर्गत टिकटक, अल्फाबेटको युट्युब तथा मेटाको इन्स्टाग्राम र फेसबुकलगायत प्लेटफर्ममा १६ वर्षमुनिका बालबालिकाको पहुँच रोकिएको थियो।
उक्त कानुन “ठूलो असफलता” भएको पिटर्सले बताए। बालबालिकालाई सामाजिक सञ्जालबाट टाढा राख्ने जिम्मेवारी अभिभावकको हुनुपर्ने उनको भनाइ छ।
“यो सरल हुनेछ वा पूर्ण रूपमा सफल हुनेछ भनेर म दाबी गर्दिनँ,” लक्सनले एउटा कार्यक्रममा भने।
“हामी प्रत्येक बालबालिकालाई सामाजिक सञ्जालबाट हटाउन सक्नेछैनौं। केहीले सधैं यसको उपाय खोज्नेछन्। तर वास्तवमा यो प्रयास नगर्नका लागि यो विषय निकै महत्वपूर्ण छ।”
प्रकाशित: ९ भाद्र २०८३, मंगलवार