काठमाडौं ।
अमेरिकाको संघीय सञ्चार आयोग (एफसीसी) ले ड्रोन प्रतिबन्धको दायरा थप उत्पादनसम्म विस्तार गर्ने योजना बनाएको छ। यसमा आयोगले यसअघि नै स्वीकृति दिएका ड्रोनसमेत पर्नेछन्।
डीजेआईले यसको विरोध गर्दै प्रयोगकर्तालाई आवाज उठाउन आग्रह गरेको छ। संघीय निकायले थर्मल इमेजिङ, लाइडार सेन्सिङ र एरोसोल वितरणजस्ता क्षमता भएका ड्रोनमा प्रतिबन्ध लगाउने प्रस्ताव गरेको हो। नयाँ प्रतिबन्ध लागू भएमा पहिले नै ग्राहकको हातमा पुगिसकेका ड्रोनमा भने असर पर्ने छैन।
गत महिना सार्वजनिक गरिएको सूचनामा एफसीसीले अमेरिकी सरकारले सैन्य क्षमता भएको वा राष्ट्रिय सुरक्षामा विशेष जोखिम निम्त्याउन सक्ने ठानेका ड्रोनका श्रेणीमा पनि प्रतिबन्ध विस्तार गर्ने विषयमा प्रतिक्रिया मागेको थियो। प्रस्तावित विस्तारमा रक्षा सामग्रीसँग जोडिन सक्ने, डकिङ स्टेसन प्रयोग गर्ने र समूहमा उड्ने ड्रोनमाथि पनि प्रतिबन्ध लगाउन सकिने उल्लेख छ।
इन्ग्याजेटका अनुसार एफसीसीको यो अभियान सन् २०२५ को डिसेम्बरमा सुरु भएको थियो। त्यतिबेला उसले विदेशी कम्पनीले बनाएका ड्रोन र तिनका महत्वपूर्ण कम्पोनेन्टलाई ‘कभर्ड लिस्ट’मा राखेको थियो।
कभर्ड लिस्टमा राष्ट्रिय सुरक्षाका लागि अस्वीकार्य जोखिम उत्पन्न गर्ने ठानिएका सञ्चार उपकरण र सेवाहरू समावेश हुन्छन्। त्यसबेला यो परिवर्तनले नयाँ आउने ड्रोन मोडललाई मात्र प्रभावित गरेको थियो। एफसीसीबाट पहिले नै स्वीकृति पाइसकेका र बजारमा रहेका पुराना ड्रोन बिक्री गर्न भने अनुमति थियो।
गत महिना एफसीसीले डीजेआईका उत्पादनलाई पुनः ब्रान्ड गरेर बिक्री गरेको आशंका भएका कम्पनीका उत्पादनलाई समेत प्रतिबन्धको दायरामा ल्याएको थियो।
अब डीजेआई एयर ३एस, डीजेआई अवाटा ३६० र डीजेआई मिनी ५ प्रो जस्ता लाइडार सेन्सिङ भएका केही उपभोक्ता ड्रोनलाई बजारबाट फिर्ता लिनुपर्ने अवस्था आउन सक्छ। कृषि क्षेत्रमा छर्कने काम वा खोज तथा उद्धारजस्ता कार्यमा प्रयोग हुने डीजेआईका व्यावसायिक ड्रोन पनि यसबाट प्रभावित हुन सक्छन्।
एफसीसीले प्रतिबन्ध लागू भएमा प्रयोगकर्ताले पहिले नै खरिद गरिसकेका ड्रोनमा असर नपर्ने स्पष्ट पारेको छ। तर डीजेआई र अन्य उत्पादकलाई त्यस्ता ड्रोन थप बिक्री गर्न भने रोक लगाइनेछ। यसले खरिदकर्तालाई ठूलो असर पार्न सक्छ, किनकि पार्टपुर्जा अभाव हुन सक्छन् र सफ्टवेयरका केही सुविधा हटाउन वा तिनका अपडेट रोक्न सकिन्छ।
डीजेआईले आफ्नो आधिकारिक भ्यूपोइन्ट्स ब्लगमा एफसीसीको पछिल्लो प्रस्तावको विरोध गर्दै यसलाई आयोगको अघिल्लो निर्णयबाट ‘पूर्ण उल्टो कदम’ भनेको छ। एफसीसीले ‘सैन्य स्तरका’ सुविधा भएका यी ड्रोनमा प्रतिबन्ध लगाउने प्रस्तावबारे सेप्टेम्बर २ सम्म प्रतिक्रिया मागेको छ।
प्रकाशित: २६ श्रावण २०८३, मंगलवार