काठमाडौं ।
प्रहरीले सट्टाबाजी गर्ने तथा गराउने र अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा बुढानीलकण्ठ नगरपालिका–१२ बस्ने ४१ वर्षीय प्रेम थापा रहेका छन्। उनलाई काठमाडौं महानगरपालिका–११ भद्रकालीस्थितबाट बुधबार साँझ करिब ५ः३० बजे शंकास्पद अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले थापाको साथबाट चार थान मोबाइल र एक थान ल्यापटप बरामद गरेको जनाएको छ। उपकरण जाँच गर्ने क्रममा वानएक्सबेट, वानएक्सबेट पार्टनर्स र मोबक्याश एप्लिकेशन मार्फत सट्टाबाजी गर्ने–गराउने गरेको फेला परेको परिसरका प्रवक्ता दान बहादुर थापाले जानकारी दिए।
प्रहरीका अनुसार ती माध्यमबाट हालसम्म २ करोड ७३ लाख ४३ हजार १७२ रुपैयाँभन्दा बढीको कारोबार भएको देखिएको छ।
सट्टेबाजी गर्न तथा गराउन नहुनेसम्बन्धी कसुरमा पक्राउ परेका थापाविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको छ।
प्रकाशित: २४ श्रावण २०८३, आईतवार