काठमाडौं ।
नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले आफ्नो आधिकारिक डिलर फ्ल्यास मोबिलिटी प्राइभेट लिमिटेड मार्फत पोखरामा बीवाईडीको आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको घोषणा गरेको छ।
कम्पनीका अनुसार बुद्धचोकस्थित यो नयाँ सर्भिस सेन्टरसँगै पोखरामा बीवाईडीको थ्रीएस (सेल्स, सर्भिस तथा स्पेयर पार्ट्स) सुविध सञ्चालनमा आएको छ।
नेपालभर आफ्नो बिक्रीपछिको सेवा सञ्जाल तीव्र रूपमा विस्तार गरिरहेको अवस्थामा पोखरामा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आउनु कम्पनीका लागि अर्को महत्वपूर्ण उपलब्धि भएको कम्पनीले जनाएको छ।
यसअघि पोखराका बीवाईडी ग्राहकले कम्पनीबाट तालिमप्राप्त थर्ड पार्टी सर्भिस पार्टनरमार्फत बिक्रीपछिको सेवा प्राप्त गर्दै आएका थिए भने अब आधिकारिक बीवाईडी सर्भिस सेन्टर सञ्चालनमा आएसँगै ग्राहकले बीवाईडीकै आधिकारिक सेवा सञ्जालमार्फत अत्याधुनिक प्राविधिक सेवा, जेन्युइन स्पेयर पार्ट्स, विशेष उपकरण तथा कम्पनीबाट तालिमप्राप्त प्राविधिकको सेवा प्राप्त गर्न सक्नेछन्।
कार्यक्रममा बोल्दै साइमेक्स इंकका हेड अफ सर्भिस सुशील तण्डुकारले भने, ‘बीवाईडीको सवारी खरिद गर्नु भनेको ग्राहकसँगको हाम्रो सम्बन्धको सुरुवात मात्र हो। हाम्रो जिम्मेवारी सम्पूर्ण स्वामित्व अवधिभर कायम रहन्छ। पोखरामा आधिकारिक बीवाईडी सर्भिस सेन्टर सञ्चालनमा ल्याउनु भनेको विश्वस्तरीय पूर्वाधार, दक्ष प्राविधिक, जेन्युइन स्पेयर पार्ट्स तथा ग्राहक–केन्द्रित सेवामार्फत उत्कृष्ट र इमानदार सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धताको निरन्तरता हो। नेपालमा विद्युतीय सवारीको बजार विस्तार हुँदै गइरहेका बेला हामी देशव्यापी सेवा सञ्जाललाई थप सुदृढ बनाउँदै प्रत्येक बीवाईडी ग्राहकलाई पूर्ण विश्वास र सहजता प्रदान गर्न प्रतिबद्ध छौं।’
करिब ७ हजार २३३ वर्गफिट क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक सर्भिस सेन्टर विशेष रूपमा विद्युतीय सवारीसाधनको मर्मत तथा सेवा सम्बन्धी आवश्यकतालाई ध्यानमा राखेर निर्माण गरिएको हो।
सर्भिस सेन्टरमा चारवटा आधुनिक भेइकल लिफ्ट, छुट्टाछुट्टै मर्मत क्षेत्र, हाई–भोल्टेज प्रणालीमा काम गर्ने विशेष कार्यक्षेत्र, जेन्युइन बीवाईडी स्पेयर पार्ट्स स्टोरेज र डेडिकेटेड भेइकल वासिङ बे लगायतका सुविधा उपलब्ध छ। सो सेन्टरले दैनिक १५ देखि १६ वटा सवारीसाधनलाई सेवा प्रदान गर्न सक्ने क्षमता राख्दछ, जसबाट ग्राहकको प्रतीक्षा समय घट्नुका साथै सेवा अझ प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।
सर्भिस सेन्टरमा ग्राहकले नियमित मर्मत सेवा, ब्याट्री परीक्षण, मेकानिकल तथा इलेक्ट्रिकल रिपेयर, डेन्ट तथा पेन्ट सेवा, रोडसाइड असिस्टेन्स, वारेन्टी सर्भिस, जेन्युइन स्पेयर पार्ट्सका साथै डेडिकेटेड सर्भिस एडभाइजर र सीआरएम टोलीमार्फत व्यक्तिगत ग्राहक सेवा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
प्रकाशित: २४ श्रावण २०८३, आईतवार