दैनिक १ लाख रुपैयाँमाथि जित्न सकिने सरकारको करदाता उपहार कार्यक्रममा कसरी सहभागी हुने?

  • Technology Khabar | ७ श्रावण २०८३, बिहीबार
दैनिक १ लाख रुपैयाँमाथि जित्न सकिने सरकारको करदाता उपहार कार्यक्रममा कसरी सहभागी हुने?

काठमाडौं ।

सरकारले हालै करदाता प्रोत्साहन कार्यविधि जारी गरेको छ। अर्थ मन्त्रालय अन्तर्गतको आन्तरिक राजस्व विभागले यसलाई कार्यान्वयनमा ल्याउनेछ। विभाग आफैंले वा कार्यक्रम आयोजक (इभेन्ट अर्गनाइजर) छनोट गरी कार्यक्रम सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी दिन सक्नेछ।

वस्तु तथा सेवा खरिद बिक्रीमा बीजक लिने दिने संस्कृतिको विकास गरी कर अनुपालन अभिवृद्धि गर्न, वास्तविक कारोबार अभिलेखीकरणलाई प्रोत्साहन गर्न र वस्तु तथा सेवा खरिद गर्दा उपभोक्तालाई अनिवार्य रुपमा बीजक लिन उत्प्रेरित गर्न स्वीकृत वार्षिक बजेट तथा कार्यक्रमको अधीनमा रही करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन गरिने कार्यविधिमा उल्लेख छ।

को को सहभागी हुन सक्छन्?

विभागका अनुसार स्वः प्रयोजनका लागि नेपालभित्र एक पटकमा एक सय रुपैयाँ भन्दा बढी मूल्यको वस्तु वा सेवा खरिद गर्ने उपभोक्ता कार्यक्रममा सहभागी हुन योग्य हुनेछ।

प्रत्येक महिनाको एक गतेदेखि सोही महिनाको मसान्तसम्म भएका विद्युतीय भुक्तानीबाट गरिएको खरिद तथा प्रणालीमा प्रविष्ट भएका बीजक सो महिनाको कार्यक्रममा समावेश गरिनेछ।

कार्यक्रममा सहभागी हुने प्रत्येक खरिद बीजक र विद्युतीय भुक्तानीबाट गरिएको खरिद बापत प्रणालीबाट एकवटा उपहार टिकट उपलब्ध हुनेछ।

कस्ता बिल बीजक कार्यक्रममा सहभागी हुन अयोग्य हुन्छन्?

  • व्यावसायिक प्रयोजनका लागि भएका खरिद बीजक
  • सरकारी निकाय वा सार्वजनिक संस्थाको नामबाट जारी भएका बीजक
  • टेलिफोन सेवा, इन्टरनेट सेवा, विद्युत, सवारी तथा ढुवानीका साधन, हवाई टिकट खरिद बापतको बीजक

स्थायी लेखा नम्बर नलिएका व्यक्तिबाट खरिद गरेका बिजक
विभागका अनुसार एउटै बीजक वा विद्युतीय भुक्तानीबाट गरिएको खरिद एक पटकभन्दा बढी कार्यक्रममा सहभागी गराउन पाइने छैन।                                                                                         

 कार्यक्रममा कसरी सहभागी हुने?

कार्यक्रमको विजेता प्रत्येक महिनाको १ र १६ गते हुन्छ। यसमा भुक्तानी सेवा प्रदायक मार्फत भएको विद्युतीय भुक्तानीबाट गरिएको खरिद कार्यक्रममा स्वतः समावेश हुनेछ।त्यस  बाहेकका बिलबीजक लिएका योग्य उपभोक्ताले १ गतेको कार्यक्रममा सहभागी हुन चाहेमा बीजक जारी भएको मितिभन्दा अघिल्लो महिनाको १६ गतेदेखि मसान्तसम्मको र  १६ गते खोलिने कार्यक्रमका लागि १ गतेदेखि १५ गतेसम्मको बिलबिजकका निम्म विवरण प्रणालीमा प्रविष्ट गर्नुपर्छ:

  • बीजक नम्बर
  • बिक्रेताको स्थायी लेखा नम्बर
  • बीजक जारी मिति
  • बीजकमा उल्लेखित कुल रकम
  • भुक्तानीको प्रकार (नगद वा विद्युतीय)
  • खरिदकर्ताको नाम र मोबाइल नम्बर

विभागका अनुसार छनोट भएका विजेताको नाम विभागको वेबसाइट र सामाजिक सञ्जालको माध्यमबाट सार्वजनिक गरिनेछ। दैनिक विजेतालाई दिइने उपहारको रकम जनही एक लाख तेत्तीस हजार तीन सय चौतीस रुपैयाँ हुनेछ भने पाक्षिक बम्पर उपहार विजेता उपभोक्तालाई दिइने उपहारको रकम दश लाख रुपैयाँ हुनेछ।                                                                                                                                                          उपहारका लागि विजेताले उपहार घोषणा भएको मितिले पन्ध्र दिनभित्र निम्न कागजात सहित नजिकको आन्तरिक राजस्व कार्यालयमा आफै वा वारेसमार्फत निवेदन दिनु पर्नेछ :

  • सक्कल बीजक
  • राष्ट्रिय परिचयपत्र नागरिकता प्रमाणपत्र राहादानी सवारी साधन
  • अनुमतिपत्र वा यस्तै अन्य आधिकारिक परिचयपत्रको प्रतिलिपि
  • बैंक खाताको विवरण
  • स्थायी लेखा नम्बर 

प्रकाशित: ७ श्रावण २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार