काठमाडौं ।
टीएसएमसीले एरिजोनास्थित आफ्ना उत्पादन केन्द्र विस्तार गर्न थप १०० अर्ब डलर लगानी गरिरहेको र एआई चिपको माग धेरै वर्षसम्म बलियो रहने अपेक्षा गरेको जनाएको छ। तर त्यहाँ निर्माण मजदुरको अभावजस्ता चुनौती समाधान गर्नुपर्ने कम्पनीका एक उच्च अधिकारीले बताएका छन्।
बिहीबार सार्वजनिक भएको दोस्रो त्रैमासिकको उत्कृष्ट नतिजापछि बोल्दै प्रमुख वित्तीय अधिकृत वेन्डेल ह्वाङले एरिजोनामा भइरहेको प्रगतिप्रति कम्पनी निकै सन्तुष्ट रहेको र त्यसैले कुल लगानी बढाएर २६५ अर्ब डलर पुर्याउने निर्णय गरिएको बताए।
उनले कम्पनीले लगानीलाई निरन्तरता दिने र अमेरिकी सरकारको सहयोगप्रति आभारी रहेको बताए।
“हामी ग्राहकहरूको धेरै वर्षसम्म रहने संरचनागत बलियो माग देखिरहेका छौं,” उनले भने।
रोयटर्सका अनुसार विश्वकै अग्रणी एआई चिप उत्पादक तथा एनभिडियाको प्रमुख आपूर्तिकर्ता टीएसएमसीको ठूलो पूँजीगत लगानी र बढ्दो नाफालाई विश्व सेमिकन्डक्टर उद्योगको मागको प्रमुख सूचकका रूपमा हेरिन्छ।
एरिजोनामा विस्तार गर्ने कम्पनीको निर्णय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि उपलब्धिका रूपमा हेरिएको छ। ट्रम्पले अमेरिकामै थप चिप उत्पादन गर्न जोड दिँदै आएका छन्।
ट्रम्पले ताइवानले अमेरिकी सेमिकन्डक्टर व्यवसाय खोसेको आरोप पटक–पटक लगाएका छन्। उनले आफ्नो कार्यकाल सकिँदासम्म विश्वको ५० प्रतिशत सेमिकन्डक्टर उत्पादन क्षमता अमेरिकामा हुने दाबी गरेका छन्।
ह्वाङका अनुसार एरिजोनामा रहेको टीएसएमसीको पहिलो फ्याब सञ्चालनमा आइसकेको छ र यसको उत्पादन गुणस्तर ताइवानको मुख्य फ्याबसरह रहेको छ।
दोस्रो फ्याबमा छिट्टै उपकरण जडान सुरु हुनेछ भने तेस्रो फ्याब निर्माणाधीन छ। चौथो फ्याब र पहिलो उन्नत प्याकेजिङ केन्द्रका लागि प्रारम्भिक काम पनि सुरु भइसकेको उनले बताए।
हालका र योजनामा रहेका सबै परियोजना पूरा भएपछि एरिजोनामा टीएसएमसीका १२ वटा फ्याब तथा उन्नत प्याकेजिङ सुविधा र एउटा अनुसन्धान तथा विकास केन्द्र हुनेछ। उनले नयाँ लगानीको समयसीमा भने खुलाएनन्।
तर निर्माण मजदुरको संख्या र आवश्यक पूर्वाधारजस्ता भौतिक सीमितता रहेको उल्लेख गर्दै उनले यी समस्या समाधान गर्न सरकारसँग नजिकबाट सहकार्य गरिने बताए।
यससँगै टीएसएमसीले ताइवानमै पनि आगामी केही वर्षमा १३ वटा अत्याधुनिक फ्याब तथा उन्नत प्याकेजिङ केन्द्र निर्माण गरिरहेको छ।
ह्वाङले ताइवानमा जमिन सीमित स्रोत भएकाले उपलब्ध हुने जमिन अत्याधुनिक प्रविधिका लागि प्रयोग गरिने बताए।
अत्याधुनिक प्रविधि उत्पादन बढाउँदा अनुसन्धान तथा विकास र सञ्चालन टोलीबीच नजिकको सहकार्य आवश्यक हुने भएकाले त्यस्तो काम ताइवानमै गर्नुपर्ने र स्थिर भएपछि मात्र विदेशमा विस्तारबारे विचार गरिने उनले बताए।
अमेरिकामा नयाँ सेयर बिक्री गरेर पूँजी जुटाउने सम्भावनाबारे सोधिएको प्रश्नमा ह्वाङले बजार अवस्था अनुकूल भए नयाँ ऋणपत्र जारी गर्ने सम्भावना ननकारिने बताए।
यद्यपि कम्पनीको विस्तार योजनामाथि अमेरिका र चीनबीचको भूराजनीतिक तनावले चुनौती थपेको छ। अमेरिका चीनतर्फ उन्नत चिपको निर्यात नियन्त्रण गर्न प्रयासरत छ।
गत वर्ष रोयटर्सले टीएसएमसीले उत्पादन गरेको एउटा चिप हुवावेको एआई प्रोसेसरमा पुगेपछि अमेरिकी निर्यात नियन्त्रण अनुसन्धान टुंग्याउन कम्पनीले १ अर्ब डलर वा सोभन्दा बढी जरिवाना तिर्नुपर्ने हुन सक्ने जनाएको थियो।
ह्वाङले उक्त अनुसन्धान वा सम्भावित जरिवानाबारे अमेरिकी सरकारलाई प्रश्न गर्न आग्रह गर्दै टीएसएमसीको आन्तरिक निर्यात नियन्त्रण प्रणाली निरन्तर समीक्षा भइरहेको बताए।
उनले कम्पनीले नियम पालना गर्न सक्ने सबै प्रयास गरे पनि ग्राहकले आफ्ना ग्राहकलाई सामान बिक्री गरेपछि त्यसको अन्तिम गन्तव्यबारे जानकारी गुम्ने वास्तविकता रहेको बताए।
हालै एआई पूर्वाधारमा भइरहेको ठूलो लगानीका बीच एआई बूम दीर्घकालसम्म टिक्ने वा नटिक्ने भन्ने लगानीकर्ताको चिन्ता फेरि बढेको छ।
उत्कृष्ट नतिजा सार्वजनिक भए पनि शुक्रबार ताइपेईमा सूचीकृत टीएसएमसीको सेयर मूल्य ७.३ प्रतिशतले घट्यो। त्यसपछि पनि यस वर्ष कम्पनीको सेयर करिब ५० प्रतिशतले बढेको छ।
विश्वकै अत्याधुनिक चिप उत्पादनमा टीएसएमसी अझै अग्रणी भए पनि सामसुङ इलेक्ट्रोनिक्स र इन्टेलजस्ता प्रतिस्पर्धीहरूले दूरी घटाउने प्रयास गरिरहेका छन्।
ह्वाङले कम्पनी आफ्नो व्यवसायिक मोडेलप्रति विश्वस्त रहेको बताए।
“हामी कुनै अवसर गुमाउन चाहँदैनौं। हाम्रा प्रतिस्पर्धी राम्रो छन्, तर हामी अझ राम्रो छौं,” उनले भने।
प्रकाशित: ७ श्रावण २०८३, बिहीबार