काठमाडौं ।
इन्टरनेट सेवा प्रदायक (आईएसपी) भायनेट कम्युनिकेशन लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा ५४ करोड १० लाख रुपैयाँ नगद आम्दानी (ग्रस क्यास अक्रुअल) पुर्याएको छ।
रोयल्टी र आरटीडीएफसम्बन्धी अतिरिक्त दायित्वका कारण सञ्चालन नाफामा दबाब परे पनि कम्पनीको नगद आर्जन भने बढेको केयर रेटिङ नेपालको प्रतिवेदनमा उल्लेख छ।
यो आँकडा अघिल्लो वर्षमा ५१ करोड ९० लाख रुपैयाँ थियो। तुलनात्मक रुपमा हेर्दा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा ९ करोड २० लाखले खुद आम्दानी बढेको छ।
यो अवधिमा सञ्चालन आम्दानी बढेर २ अर्ब ४० करोड ४० लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष २ अर्ब ३० करोड ६० लाख रुपैयाँ थियो।
अघिल्लो आर्थिक वर्षको तुलनामा यो आँकडा ९ करोड ८० लाख रुपैयाँले बढी हो। यसैगरी ब्याज, लिज, ह्रासकट्टी र करकट्टी नगरिएको आम्दानी मार्जिन अघिल्लो आर्थिक वर्षमा ३३.५५ रहेकोमा गत आर्थिक वर्षमा भने घटेर ३१.११ झरेको छ।
कम्पनीको वित्तीय जोखिम बढेको भन्दै केयर रेटिङ्स नेपालले कम्पनीको दीर्घकालीन बैंकिङ सुविधालाई ‘केयर-एनपी बीबी–’ र अल्पकालीन बैंकिङ सुविधालाई ‘केयर-एनपी ए४’ रेटिङ प्रदान गरेको छ।
सर्वोच्च अदालतको फैसलापछि विगतका वर्षहरूको रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) शुल्क एकैपटक तिर्नुपरेकाले कम्पनीको ऋणभार उल्लेख्य रूपमा बढेको र यसले कम्पनीको वित्तीय अवस्थालाई प्रभावित गरेको रेटिङ प्रतिवेदनमा उल्लेख छ।
केयर रेटिङ्सका अनुसार सर्वोच्च अदालतले २०२४ मे १३ मा दिएको फैसलापछि इन्टरनेट सेवा प्रदायकहरूले ब्यान्डविथ शुल्कमात्र नभई मर्मत (मेन्टिनेन्स) शुल्कमा समेत रोयल्टी र आरटीडीएफ शुल्क तिर्नुपर्ने भएको थियो।
त्यसपछि भायनेटले अघिल्ला वर्षहरूको करिब ४३ करोड ३० लाख रुपैयाँ बराबरको दायित्व भुक्तानी गर्नुपरेको थियो। उक्त रकमको अधिकांश व्यवस्थापन ऋणमार्फत गरिएकाले कम्पनीको कुल ऋण बढ्नुका साथै नेटवर्थमा पनि दबाब परेको प्रतिवेदनले जनाएको छ।
यसको प्रभाव कम्पनीको वित्तीय सूचकहरूमा समेत देखिएको छ। आर्थिक वर्ष २०८१/८२ (२०२५) मा कुल ऋण र ग्रस क्यास अक्रुअल (जीसीए) को अनुपात ४.३६ गुणा पुगेको छ, जुन अघिल्लो वर्ष ३.४४ गुणा थियो। ब्याज भुक्तानी क्षमता (इन्टरेस्ट कभरेज रेसियो) ३.५७ गुणामा सीमित रहँदा कम्पनीको चालु अनुपात (करेन्ट रेसियो) ०.७९ गुणा मात्रै रहेको छ, जसले छोटो अवधिको तरलतामा दबाब रहेको संकेत गर्छ।
यद्यपि रेटिङ एजेन्सीले भायनेटका केही सकारात्मक पक्ष पनि औंल्याएको छ। २५ वर्षभन्दा लामो सञ्चालन अनुभव, सातै प्रदेशका ५८ जिल्लामा फैलिएको सेवा सञ्जाल, करिब १०.२९ प्रतिशत बजार हिस्सा तथा अनुभवी व्यवस्थापन टोली कम्पनीका मुख्य सबल पक्ष रहेको प्रतिवेदनमा उल्लेख छ। ग्राहक संख्याका आधारमा भायनेट हाल नेपालकै चौथो ठूलो इन्टरनेट सेवा प्रदायक हो।
केयर रेटिङ्सले आगामी दिनमा कम्पनीले ऋणमा निर्भरता घटाउँदै आम्दानी र नाफामा सुधार गर्न सके तथा प्रतिस्पर्धी बजारमा आफ्नो बजार हिस्सा कायम राख्न सके वित्तीय जोखिम घट्न सक्ने जनाएको छ। तर ठूलो परिमाणमा ऋण लिएर गरिने नयाँ लगानीले कम्पनीको वित्तीय प्रोफाइलमा थप दबाब पर्न सक्ने चेतावनी पनि प्रतिवेदनमा दिइएको छ।
प्रकाशित: २४ असार २०८३, बुधबार