काठमाडौं ।
चीनको एआई स्टार्टअप डीपसिकले आफ्नै एआई चिप विकास गरिरहेको तीन जना जानकार स्रोतले बताएका छन्।
यसले कम्पनीलाई आफ्ना लोकप्रिय एआई मोडेलको प्रशिक्षण र सञ्चालनका लागि हाल निर्भर रहेको एनभिडिया र हुवावेका चिपमाथिको निर्भरता घटाउन सहयोग गर्न सक्छ।
स्रोतहरूका अनुसार यो चिप नयाँ मोडेललाई प्रशिक्षण दिनका लागि नभई इन्फरेन्सका लागि डिजाइन गरिएको हो। इन्फरेन्स भनेको प्रशिक्षित एआई मोडेलले प्रयोगकर्तालाई उत्तर दिने चरण हो।
यदि यो प्रयास सफल भएमा, डीपसिकको सेमिकन्डक्टर विकासतर्फको विस्तार कम्पनीका लागि ठूलो रणनीतिक परिवर्तन हुनेछ। चीनमा एआई क्षेत्रको अगुवा कम्पनीका रूपमा चिनिएको डीपसिकको यो कदमले चिनियाँ प्रविधि कम्पनी हुवावेका लागि पनि थप चुनौती सिर्जना गर्न सक्छ।
यस समाचारपछि अमेरिकास्थित एनभिडियाको सेयर प्रि–मार्केट कारोबारमा करिब २ प्रतिशतले घटेको थियो।
एक वर्षभन्दा बढीअघि दुई अत्यधिक दक्ष एआई मोडेल सार्वजनिक गरेपछि डीपसिक विश्वभर चर्चामा आएको थियो। ती मोडेलले विश्वव्यापी रूपमा लोकप्रियता पाएपछि सिलिकन भ्याली र वासिङ्टनका धेरैलाई आश्चर्यमा पारेका थिए।
रोयटर्सका अनुसार डीपसिक आफ्नो प्रविधिको व्यावसायीकरणभन्दा पनि एआई मोडेल विकासमा जोड दिने कम्पनीका रूपमा परिचित छ।
हुवावेका चिप अझै पनि एनभिडियाका अत्याधुनिक चिपभन्दा धेरै पछाडि भए पनि अमेरिकाले चीनमा एनभिडियाका उन्नत चिप निर्यातमा प्रतिबन्ध लगाएपछि हुवावेले करिब ५० अर्ब डलरको चिनियाँ एआई चिप बजारको झन्डै आधा हिस्सा ओगट्न सफल भएको छ। ह्वावेले डीपसिकसहित अन्य प्रमुख कम्पनीलाई पनि चिप आपूर्ति गर्दै आएको छ।
तर अलीबाबा र बाइडुले आफ्नै एआई चिप विकास गरी बजार हिस्सा बढाउन थालेपछि हुवावेको बजार पकड कमजोर हुन थालेको छ।
स्रोतहरूका अनुसार डीपसिकको चिप विकास प्रयास अझै प्रारम्भिक चरणमा छ। कम्पनीले चिप डिजाइन, फाउन्ड्री र मेमोरी कम्पनीहरूसँग छलफल गरिरहेको छ र बाह्य साझेदारसँग पनि सम्पर्क बढाइरहेको छ। यी प्रयास करिब एक वर्षअघि सुरु भएको एक स्रोतले जनाएको छ।
हाङझाउस्थित कम्पनीले पछिल्ला महिनामा चिप डिजाइन इन्जिनियरको भर्ना पनि बढाएको छ। तर सार्वजनिक रोजगारी प्लेटफर्ममा सूचना प्रकाशित नगरी गोप्य रूपमा भर्ना गरिएको दुई स्रोतले बताएका छन्।
यो जानकारी सार्वजनिक नभएकाले तीनै स्रोतले आफ्नो नाम खुलाउन अस्वीकार गरेका छन्। चीनको एआई महत्वाकांक्षाको प्रमुख कम्पनी मानिए पनि डीपसिकले सार्वजनिक रूपमा कम प्रोफाइल कायम राखेको छ। कम्पनीले यसबारे टिप्पणी गर्न अस्वीकार गरेको छ।
डीपसिकले आफ्नै चिप विकास गर्न सफल भएमा अन्य विश्वव्यापी एआई कम्पनीहरूको बाटो पछ्याउनेछ। यसबाट कम्पनीले आफ्ना एआई मोडेलका लागि आवश्यक हार्डवेयरमाथि बढी नियन्त्रण कायम गर्न र एनभिडियामाथिको निर्भरता घटाउन सक्नेछ।
गत महिना ओपनएआईले ब्रोडकमसँग मिलेर विकास गरेको आफ्नो पहिलो इन्फरेन्स चिप ‘जालापेनो’ सार्वजनिक गरेको थियो। रोयटर्सका अनुसार एन्थ्रोपिकले पनि आफ्नै एआई चिप विकास गर्ने सम्भावनाबारे अध्ययन गरिरहेको छ।
डीपसिकका लागि यो प्रयासको रणनीतिक महत्व पनि छ। अमेरिकाको निर्यात नियन्त्रणका कारण चिनियाँ कम्पनीहरूले एनभिडियाका अत्याधुनिक चिप खरिद गर्न पाउँदैनन्।साथै, बेइजिङले स्वदेशी विकल्प विकास गर्न आफ्ना प्रविधि कम्पनीलाई प्रोत्साहन दिइरहेको छ।
डीपसिकका संस्थापक लियाङ वेनफेङले सन् २०२४ मा चिनियाँ सञ्चारमाध्यमसँगको दुर्लभ अन्तर्वार्तामा चिप निर्यात नियन्त्रण कम्पनीका लागि चुनौती रहेको बताएका थिए।
डीपसिकले हालसम्म एनभिडिया र हुवावे दुवैका चिप प्रयोग गर्दै आएको छ। कम्पनीका अनुसार जनवरी २०२५ मा अमेरिकी प्रविधि कम्पनीहरूको सेयर बजारमा ठूलो गिरावट ल्याएको कम लागतमा उच्च प्रदर्शन गर्ने आर१ रिजनिङ मोडेलको आधार मोडेललाई एनभिडियाको एच१०० चिपमा प्रशिक्षण दिइएको थियो। यो चिप चीनका लागि विशेष रूपमा बनाइएको भए पनि अमेरिकाले सन् २०२३ को अन्त्यमा त्यसको निर्यातमा प्रतिबन्ध लगाएको थियो।
त्यसयता डीपसिकले हुवावेमाथि निर्भरता बढाएको छ। अप्रिलमा कम्पनीले हुवावेको एसेन्ड चिपका लागि अनुकूलित भी४ मोडेल सार्वजनिक गरेको थियो। हुवावेले भी४-फ्लाश मोडेलको आंशिक प्रशिक्षणमा आफ्ना प्रोसेसर प्रयोग भएको जनाएको थियो। त्यसपछि चिनियाँ प्रविधि कम्पनीहरूबाट हुवावेको एसेण्ड ९५० चिपको माग उल्लेख्य रूपमा बढेको रोयटर्सले जनाएको थियो।
डीपसिकको इन्फरेन्स चिपले एआई कम्प्युटिङको सबैभन्दा तीव्र रूपमा बढिरहेको मागलाई लक्षित गर्नेछ। एआईको प्रयोग बढ्दै जाँदा उद्योगको कम्प्युटिङ आवश्यकता नयाँ मोडेल प्रशिक्षणबाट इन्फरेन्सतर्फ सर्दै गएको छ। यसका लागि विशेष प्रकारका चिप आवश्यक पर्छन्, जुन सामान्य प्रयोजनका GPU भन्दा सस्ता र कम ऊर्जा खपत गर्ने हुन सक्छन्।
तर यो प्रयास सफल हुने निश्चित छैन। प्रतिस्पर्धी एआई चिप विकास गर्न सामान्यतया धेरै वर्ष र ठूलो लगानी आवश्यक पर्छ। उत्पादन प्रक्रिया पनि चुनौतीपूर्ण छ। अमेरिकाको प्रतिबन्धका कारण चिनियाँ चिप डिजाइन कम्पनीहरूले विश्वका अत्याधुनिक फाउन्ड्री प्रयोग गर्न पाउँदैनन्। साथै, उच्च ब्यान्डविथ मेमोरीमा पनि अमेरिकाले प्रतिबन्ध लगाएको छ, जुन एआई इन्फरेन्स चिपका लागि महत्वपूर्ण कम्पोनेन्ट हो।
डीपसिकको चिप विकास प्रयास कम्पनीले पहिलोपटक बाह्य लगानी स्वीकार्ने योजनासँगै अघि बढेको हो। रोयटर्सका अनुसार कम्पनीले जुन महिनामा ५२ अर्बदेखि ५९ अर्ब डलर मूल्यांकनमा ७ अर्ब डलर उठाउने पहिलो लगानी चरणको तयारी गरेको थियो। यसले बाह्य लगानी अस्वीकार गर्दै आएको कम्पनीको दीर्घकालीन रणनीतिमा परिवर्तन आएको संकेत गरेको छ।
प्रकाशित: २४ असार २०८३, बुधबार