काठमाडौं ।
नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गर्दै आएको वर्ल्डलिंक इन्टरनेट एकेडेमी कार्यक्रम मार्फत नेपालमा पहिलो पटक समुदायस्तरमा डिजिटल साक्षरता तथा सुरक्षित इन्टरनेट प्रयोग, जोखिम न्यूनिकरण सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेको छ।
गत साउन २०८२ देखि जेठ २०८३ सम्म सञ्चालन गरिएका विभिन्न तालिम तथा अभिमुखीकरण कार्यक्रममार्फत काठमाडौं उपत्यकाका विभिन्न समुदायका ३९२ जना समुदाय प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।
डिजिटल प्रविधि आजको जीवनशैलीको अभिन्न हिस्सा र आधारभुत आवश्यकता बनिसकेको छ। तर यसको प्रयोगसँगै साइबर दुव्र्यवहार, अनलाइन ठगी, गोपनीयता उल्लङ्घन तथा गलत सूचनाजस्ता जोखिमहरू पनि बढ्दै गएका छन्।
विशेषगरी बालबालिका र युवाहरू इन्टरनेटको बारेमा सुरक्षित र जिम्मेवार डिजिटल अभ्यासबारे सचेत गराउनु आजको आवश्यकता बनेको छ।
यही आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यका साथ वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडकी प्रमोटर सेयरहोल्डर तथा सीएसआर डाइरेक्टर अनुपा भण्डारी जालानको नेतृत्व, अवधारणा र योजनाअनुसार विगत केही वर्ष अघिदेखि उक्त सचेतना कार्यक्रमको सुरुवात गरिएको कम्पनीले जनाएको छ।
वर्ल्डलिंक स्वयं इन्टरनेट सेवा प्रदायक संस्था भए पनि आफ्नो क्षेत्रसँग सम्बन्धित चुनौती र समस्याहरूलाई सम्बोधन गर्नुपर्ने दायित्व महसुस गर्दै विद्यालयका विद्यार्थी तथा समुदायलाई लक्षित गरी डिजिटल साक्षरता तथा सुरक्षित इन्टरनेट प्रयोगसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको भण्डारी जालानले स्पष्ट पारिन्।
उनका अनुसार यो सचेतना कार्यक्रम हाल विद्यालय र समुदायस्तरमा निरन्तर सञ्चालन हुँदै आएको छ। यस अभियानले विद्यार्थी तथा समुदायका व्यक्तिहरूलाई इन्टरनेटका अवसर र चुनौतीबारे जानकारी प्रदान गर्नुका साथै सुरक्षित तथा जिम्मेवार अनलाइन व्यवहार अपनाउन प्रेरित गर्ने विश्वास लिइएको छ।
यसै अभियानअन्तर्गत चालु आर्थिक वर्षमा भक्तपुरको चाँगुनारायण नगरपालिकाको समन्वयमा १९ वटा विद्यालयका करिब १,४९० विद्यार्थीहरू यस सचेतनामूलक तालिमबाट लाभान्वित भएका थिए।
तालिम पश्चात् विद्यार्थी, शिक्षक तथा अभिभावकहरूबाट प्राप्त सकारात्मक प्रतिक्रिया र समुदायस्तरबाट बढ्दो मागका आधारमा यस्ता कार्यक्रमलाई विद्यालयमा मात्र सीमित नराखी समुदायस्तरसम्म विस्तार गर्नुपर्ने आवश्यकता महसुस गरिएको थियो।
समुदायको अनुरोध तथा इन्टरनेटसँग सम्बन्धित जोखिमप्रतिको बढ्दो चासोलाई मध्यनजर गर्दै वर्ल्डलिंकको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत यसै आर्थिक वर्षदेखि कार्यक्रमलाई थप समुदायमा विस्तार गरिएको कम्पनीको दावी छ।
यस पहलले समुदायलाई डिजिटल प्रविधिको सुरक्षित, जिम्मेवार तथा प्रभावकारी प्रयोगतर्फ उन्मुख गराउने अपेक्षा गरिएको छ।
कार्यक्रममा प्रयोग हुने तालिमका विषयवस्तु नेपाल प्रहरीको साइबर ब्यूरोद्वारा अध्ययन गरी विद्यालय र समुदायस्तरमा प्रयोगका लागि अनुमोदित रहेका छ।
तसर्थ समुदायस्तरमा वर्ल्डलिंकको संस्थागत सामाजिक उत्तरदायित्वको पहलमा महिला मानव अधिकार संस्था, काठमाडौं महानगरपालिका वडा नं ९ र १० र टोखा नगरपालिकाको सम्पुर्ण वडाहरुसँग सहकार्यमा सञ्चालन गरिएका कार्यक्रमहरूमा महिला स्वास्थ्य स्वयंसेविका र समुदायका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रम अन्तर्गत, यस वर्ष समुदायस्तरमा कुल १२ वटा तालिम सत्र सञ्चालन गरिएका थिए।
सहभागीहलाई जिम्मेवार इन्टरनेट प्रयोग, डिजिटल साक्षरता, अनलाइन सुरक्षा, साइबर बुलिङ, व्यक्तिगत गोपनीयता संरक्षण, डिजिटल उत्पीडन, अनलाइन ठगी तथा गलत सूचनाका जोखिमबारे व्यावहारिक ज्ञान तथा अन्तरक्रिया प्रदान गरिएको थियो।
वर्ल्डलिंकको संस्थागत सामाजिक उत्तरदायित्वले डिजिटल समावेशीकरण, डिजिटल साक्षरता र सुरक्षित इन्टरनेट प्रयोगलाई प्राथमिकतामा राख्दै आगामी वर्षहरूमा पनि यस्ता कार्यक्रमलाई थप समुदायमा विस्तार गर्ने योजना भएको जालानले प्रष्ट पारिन्।
प्रकाशित: २४ असार २०८३, बुधबार