काठमाडौं ।
ह्वावेले वाइ-फाइ ७ प्रविधिसम्बन्धी आफ्ना पेटेन्टको लाइसेन्स रोयल्टी दर वाइ-फाइ ७ अनुरूपका प्रत्येक उपकरणका लागि ०.५ अमेरिकी डलर निर्धारण गरेको घोषणा गरेको छ।
कम्पनीले निष्पक्ष, पारदर्शी र पूर्वानुमान गर्न सकिने लाइसेन्सिङ अभ्यासमार्फत नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याएको छ।
वाइ-फाइ प्रविधिको पछिल्लो पुस्ता वाइ-फाइ ७ ले उच्च डेटा गति, कम विलम्बता र बढी भरपर्दो कनेक्टिभिटी प्रदान गर्छ। कम्पनीका अनुसार यसले केवल कनेक्टिभिटी सुधार मात्र नभई डिजिटल रूपान्तरणलाई गति दिने र मानिस तथा बुद्धिमान प्रणालीबीच नयाँ प्रकारको अन्तरक्रियाको आधार तयार गर्नेछ।
आईईईई ८०२.११ मापदण्ड विकासमा प्रमुख योगदानकर्तामध्ये एक रहेको ह्वावेले वाइ-फाइ ७ (८०२.११ बीई) प्रविधिको विकासमा महत्वपूर्ण भूमिका खेलेको र यससँग सम्बन्धित आवश्यक पेटेन्टको ठूलो पोर्टफोलियो आफ्नो स्वामित्वमा रहेको जनाएको छ। कम्पनीले वाइ-फाइ ७ का मुख्य प्रविधि विकासका लागि एक दशकभन्दा बढी समय अनुसन्धान र ठूलो लगानी गरेको बताएको छ।
कम्पनीका अनुसार सन् २०२४ को अन्त्यसम्म ह्वावेका पेटेन्ट लाइसेन्स सम्झौताले विश्वभर १.२ अर्बभन्दा बढी उपभोक्ता इलेक्ट्रोनिक उपकरण समेटिसकेका छन्।
ह्वावेले उपभोक्ता स्तरका वाइ-फाइ ७ उपकरणका लागि प्रति उपकरण ०.५ अमेरिकी डलर रोयल्टी दर लागू हुने जनाएको छ। उपकरण निर्माता कम्पनीहरूले द्विपक्षीय सम्झौता वा पेटेन्ट पुलमार्फत निष्पक्ष, उचित र भेदभावरहित (एफआरएएनडी) सर्तअनुसार लाइसेन्स लिन सक्नेछन्।
ह्वावे सन् २०२२ जुलाईमा सिसभेल वाइ-फाइ ६ पेटेन्ट पुलको संस्थापक सदस्यका रूपमा आबद्ध भएको थियो। त्यससँगै कम्पनी उक्त पेटेन्ट पुलको लाइसेन्स दिने र लिने दुवै पक्ष बनेको थियो। कम्पनीका अनुसार यो पेटेन्ट पुलले कम लागतमा पारदर्शी र निष्पक्ष ढाँचाअन्तर्गत ‘वन-स्टप’ लाइसेन्सिङ समाधान उपलब्ध गराउँछ।
ह्वावेले वाइ-फाइ ६ सम्बन्धी बलियो पेटेन्ट पोर्टफोलियो पनि विकास गरेको र त्यसका लाइसेन्स उद्योगभर व्यापक रूपमा प्रयोग भइरहेको जनाएको छ।
यसैक्रममा कम्पनी सिसभेल वाइ-फाइ मल्टिमोड पेटेन्ट पुलको पनि संस्थापक सदस्य बनेको छ। यसमार्फत लाइसेन्स लिने पक्षले वाइ-फाइ ६ र वाइ-फाइ ७ दुवै पुस्ताका आवश्यक पेटेन्ट एउटै प्लेटफर्ममार्फत प्राप्त गर्न सक्नेछन्।
ह्वावेका प्रमुख बौद्धिक सम्पत्ति अधिकृत एलन फ्यानले यी पहलमार्फत कम्पनीले नवप्रवर्तक र प्रविधि प्रयोगकर्ताबीच सन्तुलित लाइसेन्सिङ मोडेललाई प्रवर्द्धन गर्दै विश्वव्यापी वाइ-फाइ लाइसेन्सिङ वातावरणलाई अझ पारदर्शी र प्रभावकारी बनाउन योगदान पुर्याइरहेको बताए।
प्रकाशित: २१ असार २०८३, आईतवार