
काठमाडौं ।
मंगल ग्रहमा अवतरण गरेको पाँच वर्षपछि नासाको पर्सिभरेन्स रोभरले म्याराथन दूरी पूरा गरेको छ।
नासाले यस साता सार्वजनिक गरेको जानकारीअनुसार पर्सिभरेन्सले रातो ग्रहमा अवतरण गरेयता कुल २६.२ माइल दूरी पार गरेको छ। अनुकूल अवस्थामा यसको अधिकतम गति प्रतिघण्टा ०.१ माइलसम्म मात्र पुग्ने भएकाले यो उपलब्धि उल्लेखनीय मानिएको छ। नासाका अनुसार रोभरले जुन १४ मा म्याराथन दूरी पार गरेको हो।
नासाले इन्स्टाग्राम पोस्टमा लेखेको छ, “पर्सिभरेन्स अर्को ग्रहमा म्याराथन दूरी पार गर्ने दोस्रो अन्वेषक बनेको छ। यसअघि नासाको अपर्चुनिटी रोभरले सन् २०१५ मा यो उपलब्धि हासिल गरेको थियो।”
इन्ग्याजेटका अनुसार तुलनात्मक रूपमा अपर्चुनिटीलाई उक्त दूरी पार गर्न पर्सिभरेन्स ११ वर्ष र दुई महिना लागेको थियो। सन् २०१२ देखि मंगल ग्रहमा कार्यरत क्युरियोसिटी रोभरले हालसम्म २३ माइलभन्दा केही बढी दूरी तय गरेको छ।
नासाका अनुसार पर्सिभरेन्सले जेजेरो क्रेटरको पश्चिमतर्फ रहेको प्राचीन भूभागको अन्वेषणका क्रममा यो उपलब्धि हासिल गरेको हो। सो क्षेत्रमा रोबोटिक भूवैज्ञानिकका रूपमा कार्यरत रोभरले प्राचीन तालको अवशेष तथा सम्भावित प्राचीन जीवनका संकेतहरू फेला पारेको थियो।
हालै रोभरले आफ्नो पश्चिमी यात्राका क्रममा खिचिएका तस्बिरहरू पृथ्वीमा पठाएको छ, जसमा एउटा सेल्फी पनि समावेश छ।
प्रकाशित: ८ असार २०८३, सोमबार