
काठमाडौं ।
एसके हाइनिक्सले सोमबार सामसङ इलेक्ट्रोनिक्सलाई उछिन्दै दक्षिण कोरियाको सबैभन्दा मूल्यवान सूचीकृत कम्पनी बनेको छ। दुई दशकअघि ऋणको भारका कारण लगभग धराशायी हुने अवस्थामा पुगेको चिप निर्माता कम्पनीका लागि यो ठूलो परिवर्तन मानिएको छ।
कृत्रिम बुद्धिमत्ता (एआई) प्रणालीमा प्रयोग हुने हाई-ब्यान्डविथ मेमोरी (एचबीएम) चिपको प्रमुख आपूर्तिकर्ताका रूपमा स्थापित एसके हाइनिक्सले एनभिडिया र गुगलजस्ता ग्राहकलाई चिप उपलब्ध गराउँदै आएको छ।
विश्वव्यापी एआई बूमबाट सबैभन्दा बढी लाभ उठाउने कम्पनीहरूमध्ये एक बनेको एसके हाइनिक्सको शेयर मूल्य यस वर्ष ३४० प्रतिशतभन्दा बढीले बढेको छ। यससँगै यसको बजार मूल्य स्यामसङ इलेक्ट्रोनिक्स र माइक्रोनभन्दा माथि पुगेको छ।
सोमबार कम्पनीको शेयर ५.७ प्रतिशतले बढ्दा यसको बजार पूँजीकरण २,०८२.५ ट्रिलियन वन पुगेको थियो। त्यही समयमा स्यामसङ इलेक्ट्रोनिक्सको शेयर ०.४ प्रतिशतले बढेर बजार पूँजीकरण २,०८१.३ ट्रिलियन वन पुगेको थियो। प्राथमिकता शेयरहरू भने यस गणनामा समावेश गरिएको छैन।
रोयटर्सका अनुसार एआईले विश्वव्यापी अर्धचालक उद्योगलाई पुनःपरिभाषित गरिरहेका बेला यो उपलब्धि हासिल भएको हो। पहिले सामान्य वस्तुका रूपमा कारोबार हुने विशेष मेमोरी चिपहरू अहिले च्याटजीपीटी र उन्नत एआई मोडेल सञ्चालन गर्ने पूर्वाधारका महत्वपूर्ण हिस्सा बनेका छन्।
एसके हाइनिक्स मुख्य रूपमा मेमोरी चिप उत्पादनमा केन्द्रित छ। स्यामसङ इलेक्ट्रोनिक्स भने मेमोरी चिपसँगै लजिक चिप र विभिन्न इलेक्ट्रोनिक उपकरण उत्पादनमा पनि संलग्न छ। सन् २००० देखि स्यामसङ दक्षिण कोरियाको सबैभन्दा मूल्यवान कम्पनीको स्थानमा रहँदै आएको थियो।
मेरिट्ज सेक्युरिटिजका वरिष्ठ विश्लेषक किम सुनवूले अनुकूलित एआई मेमोरीको उदयले उद्योगको आर्थिक संरचनामा ठूलो परिवर्तन ल्याएको र त्यसले एसके हाइनिक्सलाई बजारको अग्रणी कम्पनी बन्न मद्दत गरेको बताएका छन्।
एसके हाइनिक्सका लागि यो उपलब्धि दक्षिण कोरियाको कर्पोरेट इतिहासकै उल्लेखनीय पुनरुत्थानमध्ये एकको परिणाम हो।
सन् २००२ मा तत्कालीन हाइनिक्स सेमिकन्डक्टर आक्रामक विस्तारका क्रममा बढेको ऋणका कारण माइक्रोनलाई बिक्री हुने अवस्थामा पुगेको थियो। तर उक्त सम्झौता अन्ततः सफल हुन सकेन र कम्पनी करिब एक दशकसम्म ऋणदाताहरूको नियन्त्रणमा रह्यो।
सन् २००३ मा कम्पनीको शेयर मूल्य १३५ वनसम्म झरेको थियो, जसका कारण लगानीकर्ताहरूले यसलाई ‘पेनी स्टक’ अर्थात् दक्षिण कोरियाली भाषामा ‘दोङजोन-जु’ का रूपमा हेर्ने गरेका थिए।
त्यसपछिका वर्षहरूमा कम्पनीको प्रदर्शन विश्वव्यापी मेमोरी चिप उद्योगको उतारचढावसँगै अघि बढ्यो। सन् २०२३ मा मेमोरी चिपको मूल्यमा आएको ठूलो गिरावटले कम्पनीलाई ७.७३ ट्रिलियन वन वार्षिक सञ्चालन घाटा व्यहोर्न बाध्य बनाएको थियो।
तर एक वर्षपछि एआई बूम तीव्र बन्दै जाँदा माइक्रोसफ्ट, गुगल र मेटाजस्ता कम्पनीहरूले ठूलो लगानी गर्न थाले। त्यसको प्रभावस्वरूप एसके हाइनिक्सले सन् २०२४ मा २३.५ ट्रिलियन वन सञ्चालन नाफा कमाउँदै कीर्तिमानी उपलब्धि हासिल गरेको थियो।
प्रकाशित: ८ असार २०८३, सोमबार