
काठमाडौं ।
ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा १६६ मेगावाट क्षमताको सुपर तमोर जलविद्युत आयोजनाको लागि वित्तीय व्यवस्थापनसम्बन्धि दुई पक्षीय सम्झौतामा हस्ताक्षर भएको छ। यस आयोजनाको प्रवर्द्धक कम्पनी क्रिष्टल पावर डेभलपमेण्ट प्रा.लि. र सहभागी बैंकहरुबिच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको हो।
उक्त सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीको उपस्थितीमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत दिप चन्द्र रेग्मी र क्रिष्टल पावर डेभलपमेण्ट प्रा. लि. का कार्यकारी प्रमुख कृष्णप्रसाद आचार्य लगायत सहअगुवाई तथा सहभागि बैंकहरुका प्रतिनिधिहरुले हस्ताक्षर गरेका छन्।
कूल २५ अर्ब रुपैयाँ अनुमानित लागत रहेको उक्त आयोजनामा ग्लोबल आइएमई बैंकको अगुवाइ, सिद्धार्थ बैंक, लक्ष्मी सनराइज बैंक, प्रभु बैंक सहअगुवाई र कृषि विकास बैंक र नेपाल एसबिआई बैंकको सहभागितामा बनेको कन्सोर्टियमले करिब १९ अर्ब रुपैयाँ लगानी गर्नेछ।
जसमध्य ग्लोबल आइएमई बैंकले ५ अर्ब रुपैयाँ, सिद्धार्थ बैंकले ४ अर्ब रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ४ अर्ब रुपैयाँ, प्रभु बैंकले ३ अर्ब ५० करोड रुपैयाँ, कृषि विकास बैंकले १ अर्ब ५० करोड तथा नेपाल एसबिआई बैंक १ अर्ब रुपैयाँ लगानी गर्ने छन्।
सम्झौतापश्चात् ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले यस आयोजना निर्धारित समयसिमाभित्र सम्पन्न भई राज्यको उर्जा उत्पादन क्षमतामा वृद्धिहुने र निर्यात प्रवर्द्धनमा सहयोग पुग्ने बताए।
ताप्लेजुङ्ग जिल्लाको फक्ताङलुङ गाँउपालिकाका स्थित तमोर नदिमा निमार्ण हुने १६६ मेगावाट क्षमताको जलविद्युत आयोजनाको अनुमानित लागत २५ अर्ब रुपैयाँ रहेको छ। सम्झौताअनुशार बैंकले ७५ प्रतिशत लगानी गर्नेछ र बाँकी २५ प्रतिशत रकम संस्थापक तथा अन्य लगानीकर्ताबाट लगानी व्यवस्थापन गरिनेछ। यो आयोजना निर्माण सुरु भएको मितिबाट ५ वर्ष भित्र निर्माण सम्पन्न हुनेछ।
प्रकाशित: २१ जेष्ठ २०८३, बिहीबार