एनभिडियाका सीईओ भन्छन्-ब्ल्याकवेल चिपको माग अत्यधिक बढेको छ

Technology Khabar २३ कार्तिक २०८२, आईतवार

एनभिडियाका सीईओ भन्छन्-ब्ल्याकवेल चिपको माग अत्यधिक बढेको छ
एनभिडियाका प्रमुख कार्यकारी जेन्सेन हुआङ। फोटो सौजन्य: बीबीस

काठमाडौं ।

एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङले शनिबार आफ्नो कम्पनीका अत्याधुनिक ब्ल्याकवेल चिपहरूको “अत्यन्तै उच्च माग” भइरहेको र तिनका लागि ताइवान सेमीकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी (टीएसएमसी) बाट वेफरको माग पनि बढ्दै गएको बताएका छन्।

“एनभिडियाले जीपीयू (ग्राफिक्स प्रोसेसिङ युनिट) मात्रै होइन, सीपीयू (सेन्ट्रल प्रोसेसिङ युनिट), नेटवर्किङ, स्विचहरू पनि बनाउँछ, त्यसैले ब्ल्याकवेलसँग सम्बन्धित धेरै चिपहरू छन्,” हुआङले सिन्चुमा टीएसएमसीले आयोजना गरेको कार्यक्रममा पत्रकारहरूलाई बताए। टीएसएमसीका प्रमुख कार्यकारी सी.सी. वेईले हुआङले “वेफर माग गरेका तर सङ्ख्या गोप्य भएको बताए।

“टीएसएमसीले हामीलाई वेफरमा निकै राम्रो साथ दिइरहेको छ,” हुआङले यस वर्ष चौथोपटक ताइवान भ्रमणका क्रममा भने। उनले थपे, “टीएसएमसी बिना एनभिडियाको सफलता सम्भव हुने थिएन।”

रोयटर्सका अनुसार गत अक्टोबरमा एनभिडिया ५ ट्रिलियन डलर बजार मूल्यमा पुगेको पहिलो कम्पनी बनेको थियो, जसपछि टीएसएमसीका वेईले हुआङलाई “फाइभ ट्रिलियन डलर म्यान” भनेका थिए।

मेमोरी अभावबारे सोध्दा हुआङले भने, व्यवसाय तीव्र गतिमा बढ्दै गएको छ र “विभिन्न कुराको कमी” हुन सक्ने बताए। “हाम्रोसँग तीन उत्कृष्ट मेमोरी निर्माता छन् — एसके हाइनिक्स, सामसुङ र माईक्रोन — तिनीहरू सबै अत्यन्तै सक्षम छन् र हामीलाई सहयोग गर्न ठूलो उत्पादन क्षमता विस्तार गरेका छन्,” उनले भने।

हुआङका अनुसार एनभिडियाले ती तीनवटै कम्पनीबाट अत्याधुनिक चिपका नमूना प्राप्त गरिसकेको छ। मेमोरी मूल्य बढ्ने सम्भावनाबारे सोध्दा उनले भने, “त्यो उनीहरूको व्यवसाय सञ्चालनको निर्णय हो।”

दक्षिण कोरियाली कम्पनी एसके हाइनिक्सले गत हप्तामात्रै उसले आगामी वर्षका लागि सबै चिप उत्पादन बेचिसकेको घोषणा गरेको थियो र एआई बूमका कारण उत्पन्न हुने लामो “सुपरसाइकल” का लागि लगानी उल्लेखनीय रूपमा बढाउने योजना बनाएको छ।

सामसुङ इलेक्ट्रोनिक्सले पनि गत हप्तै एनभिडियालाई आफ्नो आगामी पुस्ताको एचबीएम४ नामक उच्च ब्यान्डविथ मेमोरी चिप आपूर्ति गर्न “छलफल” भइरहेको जनाएको थियो।

शुक्रबार हुआङले चीनलाई ब्ल्याकवेल चिप बेच्ने विषयमा अहिले “कुनै सक्रिय छलफल” नभएको बताएका थिए। अमेरिकी प्रशासनले त्यस्ता बिक्री रोक लगाएको छ, कारण ती चिपहरूले चिनियाँ सैन्य र एआई उद्योगलाई फाइदा पुर्‍याउन सक्ने बताइएको छ।

प्रकाशित: २३ कार्तिक २०८२, आईतवार

तपाइको प्रतिक्रिया