Google

गुगलले ईयूका प्रतिस्पर्धा नियामकलाई ऐतिहासिक नियमहरुको असरबारे चेतावनी दिने

गुगलले ईयूका प्रतिस्पर्धा नियामकलाई ऐतिहासिक नियमहरुको असरबारे चेतावनी दिने
Global IME Bank

अल्फाबेट अन्तर्गतको गुगलले आज युरोपेली संघका प्रतिस्पर्धा नियामक र आलोचकहरूलाई ‘ठूला प्रविधि कम्पनीहरूलाई नियन्त्रणमा ल्याउने उद्देश्यले ल्याइएका ऐतिहासिक नियमहरूले नवप्रवर्तनमा बाधा पुर्‍याइरहेका छन्, जसको असर युरोपेली प्रयोगकर्ता र व्यवसायहरूमा परेको छ’ भन्ने चेतावनी दिने भएको छ।

अमेरिकी प्रविधि कम्पनी गुगलले नियमहरूको पालना गर्न थप स्पष्ट मार्गदर्शन प्रदान गर्न नियामकहरूलाई आग्रह गर्नेछ र आलोचकहरूलाई आफ्ना दावी पुष्टि गर्न खर्च तथा फाइदाको प्रमाण पेश गर्न अनुरोध गर्नेछ।

रोयटर्सका अनुसार गुगलमाथि डिजिटल मार्केट्स एक्ट (डीएमए) अन्तर्गत आफ्नै सेवाहरू—जस्तै गुगल शपिङ, गुगल होटल्स र गुगल फ्लाइट्स—लाई प्रतिस्पर्धीहरूभन्दा प्राथमिकता दिएको आरोप लागेको छ। यस्ता आरोपका कारण कम्पनीलाई वार्षिक विश्वव्यापी आम्दानीको १० प्रतिशतसम्म जरिवाना हुनसक्ने खतरा छ।

यसै महिना गुगलले आफ्ना सर्च नतिजामा प्रतिस्पर्धी उत्पादनहरूलाई राम्रोसँग देखिने गरी केही परिवर्तन प्रस्ताव गरेको थियो, तर आलोचकहरूले ती परिवर्तनले प्रतिस्पर्धामा समान अवसर सुनिश्चित नगरेको बताएका छन्।

“हामी डिजिटल मार्केट्स एक्टका वास्तविक परिणामहरूप्रति गम्भीर चिन्तित छौं, जसका कारण युरोपेली प्रयोगकर्ताहरूका लागि अनलाइन उत्पादन र अनुभवहरू झनै खराब भएका छन्,” गुगलकी कानूनी प्रतिनिधि क्लेयर केलीले युरोपेली आयोगद्वारा आयोजित कार्यशालामा दिने भनिएको वक्तव्यमा उल्लेख गरिएको छ।

रोयटर्सले प्राप्त गरेको उक्त वक्तव्यको प्रतिलिपिअनुसार, आयोग र आलोचकहरूसँगको छलफलपछि हालसम्म गुगलले गरेका परिवर्तनका कारण युरोपेली प्रयोगकर्ताहरूले हवाई टिकटमा बढी मूल्य तिर्नु परेको छ, किनभने उनीहरूले एयरलाइन साइटहरूमा सिधै पहुँच पाउन छाडेका छन्।

केलीले युरोपेली एयरलाइन, होटल र रेस्टुरेन्टहरूले प्रत्यक्ष बुकिङ ट्राफिकमा ३० प्रतिशतसम्मको गिरावट भोगेको बताएका छन्, र प्रयोगकर्ताहरूले झन्झटिलो प्रक्रिया र खराब अनुभवको गुनासो गरिरहेको उल्लेख गर्नेछिन्।

गुगलका अर्का कानूनी प्रतिनिधि ओलिभर बेटेलले नियामकहरूलाई कम्पनीले के गर्नुपर्छ भन्ने कुरा स्पष्ट रूपमा व्याख्या गर्न आग्रह गर्नेछन् र आलोचकहरूलाई ठोस प्रमाण पेश गर्न अनुरोध गर्नेछन्।

Sajilo Visa
easy care