Technology Khabar २ माघ २०८१, बुधबार
काठमाडौं ।
अमेरिकी सर्वोच्च अदालतले सोमबार फेसबुक र इन्स्टाग्रामको मूल कम्पनी मेटा प्लेटफर्म्स द्वारा विज्ञापनदाताहरूमाथि लागेको बहु-अर्ब डलरको सामूहिक मुद्दामा सुनुवाइ गर्न अस्वीकार गरेको छ। मेटामाथि विज्ञापनहरू देख्न सक्ने सम्भावित व्यक्तिको संख्या बढाएर ठगी गरेको आरोप छ।
सर्वोच्च अदालतले सान फ्रान्सिस्कोस्थित ९औँ यूएस सर्किट कोर्ट अफ अपिल्सको निर्णयलाई समर्थन गर्यो। यस निर्णयले मेटाका विज्ञापनदाताहरूलाई सामूहिक रूपमा क्षतिपूर्ति माग गर्न अनुमति दिएको रोयटर्सले उल्लेख गरेको छ।
गत वर्षको मार्चमा ९औँ सर्किट अदालतका तीन न्यायाधीशहरूको प्यानलले २-१ को मतले क्यालिफोर्नियाको मेनलो पार्कस्थित मेटाको विरुद्ध फैसला गरेको थियो। प्यानलले त्यतिबेला मेटाले विज्ञापनदाताहरूलाई देखाएको “सम्भावित दर्शक” को झूटो विवरण एउटै प्रकारको गलत गतिविधिको परिणाम रहेको बताएको थियो।
पूर्व मेटा विज्ञापनदाता डीजेड रिजर्भ र केइन म्याक्सवेल समावेश मुद्दाका अभिजकहरूले मेटामाथि वास्तविक व्यक्तिहरूको संख्या भन्दा सामाजिक मिडिया खाताको संख्या प्राथमिकतामा राखेको आरोप लगाएका छन्। अभियोगीहरूका अनुसार मेटाले सम्भावित अडियन्सहरूको संख्या ४०० प्रतिशतसम्म बढाएर देखाएको थियो।
सामूहिक मुद्दाहरूले व्यक्तिगत मुद्दाहरूभन्दा कम लागतमा ठूला क्षतिपूर्ति हासिल गर्न मद्दत गर्छन्। यो मुद्दामा २०१४ को अगस्ट १५ देखि फेसबुक र इन्स्टाग्राममा विज्ञापनका लागि भुक्तानी गर्ने लाखौँ व्यक्ति र व्यवसायहरू समेटिएका छन्।
मेटाले आफ्नो अपिलमा कम्तीमा तीन संघीय अदालतहरूले “समान गतिविधि” को परीक्षणलाई अस्वीकार गरेका बताउनुका साथै केही विज्ञापनदाताहरूले मेटाको गलत विवरणलाई असम्बन्धित ठानेका हुन सक्ने वा यसमा भर नगरेका हुन सक्ने धारणा राखेको थियो।
मेटाको आम्दानीको ठूलो हिस्सा विज्ञापनबाट नै आउने गर्दछ। सन् २०२४ को पहिलो नौ महिनामा मेटाले ११६.१ अर्ब डलर आम्दानी गरेको थियो।
प्रकाशित: २ माघ २०८१, बुधबार