इन्स्टाग्रामले ‘शहीद’ हरुको फोटोमा सेन्सर लगाउनु डिजिटल फासिवाद-टर्किएका राष्ट्रपति अर्दोआन

  • Technology Khabar | २४ श्रावण २०८१, बिहीबार
इन्स्टाग्रामले ‘शहीद’ हरुको फोटोमा सेन्सर लगाउनु डिजिटल फासिवाद-टर्किएका राष्ट्रपति अर्दोआन

काठमाडौं ।

टर्किएका राष्ट्रपति रेचेप तैयप अर्दोआनले सामाजिक सञ्जाल कम्पनी इन्स्टाग्रामलाई डिजिटल फासीवाद लादेको आरोप लगाएका छन्। केही दिनअघि राखेको प्यालेस्‍टिनी ‘शहीद’ हरुको फोटोमा सेन्सर गरेपछि राष्ट्रपतिले यस्तो आरोप लगाएका हुन्।

अन्तरराष्ट्रिय समाचार संस्था एपीन्युजका अनुसार सामाजिक सञ्जाल इन्स्टाग्रामका प्रतिनिधिहरुसँग टर्किएका लाखौं जनताको उक्त सामाजिक सञ्जालको पहुँच पुनर्बहाली गराउन भइरहेको वार्ताका क्रममा टर्किएका नेता अर्दोआनको यो टिप्पणी आएको हो।

टर्किएको सूचना तथा सञ्चार प्रविधि संस्थाले गत अगस्ट २ तारिखका दिन कुनै कारण नखुलाई इन्स्टाग्रामको पहुँच बन्द गरेको थियो। सरकारी अधिकारीहरुले इन्स्टाग्रामले टर्किएको नियम कानुन उल्लङ्घन गरेका कारण देशभर इन्स्टाग्राममाथि प्रतिबन्ध गर्नुपरेको बताएका छन्।

शुरुमा इन्स्टाग्रामले हमासका नेता इस्माइल हानियेको निधनप्रति दुख व्यक्त गर्दै  टर्किएका जनताले राखेका पोस्टहरु हटाएको थियो। यसैको जवाफमा टर्किए सरकारले देशभर नै इन्स्टाग्राममाथि प्रतिबन्ध लगाएका हुन्।

उनीहरु प्यालेष्टिनी शहीदहरुका फोटो पनि सहन गर्न सक्दैनन् र तुरुन्तै प्रतिबन्ध लगाउँछन्’, अर्दोआनले एउटा मानव अधिकारसम्बद्ध कार्यक्रममा भने, ‘हामी स्वतन्त्रताको नाममा व्याप्त डिजिटल फासिवादसँग लडिरहेका छौं।’

प्रकाशित: २४ श्रावण २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार