काठमाडौं ।
एप्पलले आईफोन १४ लाइनअपसँगै दोस्रो जेनेरेशनको एयरपड्स प्रो पनि सार्वजनिक गर्ने भएको छ।
२०१९ मा आएयता एयरपड्स प्रोमा कुनै नयाँपन नआएकोमा यो शरद ऋतुमा भने एप्पलले यसको नयाँ मोडल ल्याउने भएको ब्लूमबर्गका मार्क गर्मनले बताएका छन्।
थुप्रै रुमरहरुका अनुसार यो नयाँ मोडल यसै वर्ष बजारमा उपलब्ध हुने बुझिएको एबीपीलाइभले उल्लेख गरेको छ।
आउँदै गरेको एयरपड्स प्रोको डिजाइन अझ कम्प्याक्ट हुने, त्यसको स्टेम पनि हटाइने, नयाँ चार्जिङ केससहित आउने र यसले नयाँ प्रोटोकलसहितको लसलेस अडियो सपोर्ट गर्ने जनाइएको छ।
गर्मनले मिङ चि कुओलाई उद्धृत गर्दै दोस्रो जेनेरेशनको एयरपड यो वर्षको दोस्रो त्रैमासमा सार्वजनिक हुने बताए। यसै महिना कुओले ट्विटरमा यस प्रकारको पोस्ट राखेका थिए:
‘एयरपड्स ३ को अर्डर दोस्रो र तेस्रो त्रैमासका लागि ३० प्रतिशतले कम गरिएको छ। असफल उत्पादन पृथकीकरण रणनीतिका कारण एयरपड्स २ को तुलनामा एयरपड्स ३ को माग निकै कमजोर देखिएको छ। कम्पनीले एयरपड्स प्रो २ दोस्रो त्रैमासमा सार्वजनिक गरेपछि सोही गल्ती नदोहोरियोस् भन्नका लागि कम्पनीले एयरपड्स प्रो को निरन्तरता बन्द गर्न सक्नेछ।’
प्रकाशित: २६ बैशाख २०७९, सोमबार